चक्रवातबाट भारतमा १२ जनाको मृत्यु, डेढ लाख विस्थापित


४ जेष्ठ २०७८, मंगलवार
chakrabat

नयाँदिल्ली, ४ जेठ । अरब सागरमा विकसित शक्तिशाली चक्रवातका कारण भारतको जनजीवन अस्तव्यस्त भएको छ ।
तीव्र गतिको हावाहुरी र भीषण वर्षाका कारण १२ जनाको ज्यान गएको छ भने एक लाख ५० हजार जना विस्थापित भएका छन् ।

सबैभन्दा धेरै मुम्बई प्रभावित भएको छ । नौ सेनाको जहाजमार्फत चक्रवातमा फसेकाहरुको उद्धार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बईमा ११४ किलोमिटर प्रतिघण्टाको गतिमा हुरी चलेको थियो । चक्रवातका कारण मुम्बई, थाणे, रायगढ लगायत क्षेत्रको जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, कयौँ घर भत्किएका छन् भने बिजुलीका पोल भत्किँदा विद्युत आपूर्ति बन्द भएको छ ।

भीषण हावाहुरी र वर्षाका कारण मुम्बईमा हवाई क्षेत्रसहित रेल सेवा समेत प्रभावित भएका छन् । समुद्रमा चार मिटरसम्म लहर उठेको छ । यो चक्रवात गए राति १८५ किलोमिटर प्रतिघण्टाको गतिमा गुजरातमा आइपुगेको छ । गुजरातका तटीय क्षेत्रका डेढ लाखभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र, गुजरात, गोवाका मुख्यमन्त्रीसँग चक्रवातले पार्ने प्रभाव रोकथामका लागि छलफल गरेका छन् । उनले केन्द्र सरकारले सक्दो सहयोग गर्ने बताएका पनि खबरमा उल्लेख गरिएको छ । चक्रवातमा फसेकाहरुको उद्धारका लागि सेनालाई तयारी अवस्थामा राखिएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७