प्रभावकारी भएन ५ प्रतिशत ब्याजदरको कर्जा, ६ महिनामा ४२ करोड रूपैयाँ मात्र प्रवाह


४ जेष्ठ २०७८, मंगलवार
bank

काठमाडौं, ४ जेठ । कार्यविधि जारी भएको ६ महिना अवधिमा व्यवसायीले करिब ४२ अर्ब रुपैयाँ मात्र पाँच प्रतिशत ब्याजदरको व्यावसायिक निरन्तरता कर्जा लिएका छन् ।

कोभिड–१९ बाट प्रभावित उद्योगी व्यवसायीको व्यवसाय निरन्तरतामा सघाउने उद्देश्यले सरकारले उक्त कार्यक्रम ल्याएको हो । तर व्यवसायीको रुचि नहुँदा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । बजेट कार्यान्वयनमा आएको १० महिना र कार्यविधि जारी भएको ६ महिनासम्म पनि यो शीर्षकमा निकै कम मात्र कर्जा प्रवाह भएकाले यसको प्रभावकारितामै प्रश्न उठेको हो ।

कोभिड संक्रमणका कारण अहिले फेरि उद्योग व्यवसाय बन्द छ । बैंकले अत्यावश्यकबाहेक अन्य सेवा रोकेका छन् । यसकारण अवस्था सामान्य भएपछि पुनः कर्जा माग बढ्ने व्यवसायीहरूको भनाइ छ । कोभिडका कारण उत्पन्न असहज परिस्थितिले शिथिल बनेको व्यावसायिक क्षेत्रलाई प्राण दिन भन्दै सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ५० अर्ब रुपैयाँको कोष स्थापना गरी ५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने सो कार्यक्रम ल्याएको थियो ।

बजेटमा कार्यक्रम घोषणा भएपछि मन्दीमा रहेको व्यवसायले पुनर्जीवन पाउने भन्दै निकै सकारात्मक रूपमा हेरिएको थियो । निजी क्षेत्रले पनि निकै प्रशंसा गरेका थिए । तर कार्यविधि लागू भएपछि भने अनपेक्षित परिणाम देखियो । सोही कारण कार्यक्रम घोषणा भएको १० महिनासम्म पनि नगन्य संख्यामा मात्र कर्जा प्रवाह भयो । राष्ट्र बैंकका अनुसार यो कार्यक्रममा हालसम्म ३५ जना ऋणीले मात्र कर्जा लिएका छन् । यसअन्तर्गत करिब ४२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । अहिले फेरि कोभिडको अवस्था जटिल बनेकाले सो कर्जामा व्यवसायीको रुचि बढ्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालको प्रक्षेपण छ ।

‘यसअघि व्यवसायीले पुनर्कर्जा, ब्याज अनुदानको सहुलियत कर्जा सुविधा पनि लिएका थिए । अब विस्तारै पुनर्कर्जा कम हुँदै छ,’ उनले भने, ‘अब व्यावसायिक निरन्तरता कर्जाको माग बढ्ने देखिन्छ ।’ यो कार्यक्रम निरन्तर रहेकाले कोभिडका कारण अप्ठ्यारोमा रहेका व्यवसायीले अहिले पनि सो कर्जा सुविधाको उपयोग गर्नुपर्ने उनको सुझाव छ ।

यसरी कर्जा प्रवाह नहुनुमा व्यवसायी र बैंकहरूबीच मतभेद देखिन्छ । कर्जाको माग नै नआएकाले धेरै कर्जा प्रवाह गर्न नसकिएको बैंकहरूको दाबी छ । कार्यविधिमा उल्लिखित मापदण्ड नै जटिल भएकाले अधिकांश व्यवसायीले पूरा गर्न नसकेको व्यवयासीहरूको गुनासो छ । दोस्रो लहरको कोभिड–१९ संक्रमणले उद्योग व्यवसाय धेरै प्रभावित भएकाले अब पाँच प्रतिशतको व्यावसायिक निरन्तरता कर्जा उपयोग हुने उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए ।

‘विगतमा अवस्था सहज बन्दै गएको थियो, बैंक ब्याजदर पनि कम थियो, व्यवसाय सुधारका दिशामा थियो,’ उनले भने, ‘अहिले अवस्था भयावह र अनुमान गर्न नसकिने खालको छ । अवस्था सामान्य भएपछि व्यावसायिक निरन्तरताका लागि व्यवसायीलाई सबै प्रकारका सुविधा चाहिन्छ ।’
कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढंगले कर्जा उपलब्ध गराउने उद्देश्यले २०७७ मंसिरमा सरकारले उक्त कार्यविधि जारी गरेको हो ।

कार्यविधिअनुसार व्यावसायिक निरन्तरताका लागि उद्योगी व्यवसायीले ५ प्रतिशत ब्याजदरमा कर्जा पाउँछन् । अब सरकारले राष्ट्र बैंकको बैंकिङ कार्यालयमा ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्नेछ । गत पुससम्म खातामा ३० अर्ब रुपैयाँका लागि प्रतिबद्धता आइसकेको अर्थ मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७