देउवामाथि रामचन्द्र पौडेलेको संगीन ११ आरोप


१३ फाल्गुन २०७४, आईतवार
Ram chandra Paudel

काठमाडौं १३ फागुन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि वरिष्ठ नेता रामचन्द्र पौडेलले गम्भीर आरोपहरु लगाएका छन् । आइतबारदेखी सुरु भएको केन्द्रीय कार्य समिति बैठकमा नेता पौडेलले लिखित धारणा प्रस्तुत गर्दै सभापति देउवामाथि संगीन आरोपहरु लगाएका हुन्।

देउवाको कारण आज कांग्रेसले गम्भिर क्षति भोग्नु परेको पौडेलेको आरोप छ । पौडेलले लिखित धारणामा भनेका छन्,‘सुदुरपश्चिमदेखी पूर्वसम्म तपाईंको जय जयकार गर्ने बाहेक अरु मर्माहात । भन्दाभन्दै त्यत्रा आयोग, त्यत्रा नियुक्ति नबनेको नबनै रहे । कम्युनिष्टको हातमा गए ।’

Ram chandra Paudel

पौडेलका अरोपहरु यस्ता छन् ः

आरोप नम्बर १ :  तपाई पार्टीको होइन सानो गुटको नेता बन्नुभयो
रामचन्द्र पौडेल लेख्छन् :-
गूटबन्दी र भागबण्डाको अवस्था नै मेटी दिऊँ, सबैको भलो हुन्छ । नत्र भने तपाईंले केही मान्छेलाई मात्र काखी च्याप्दा त्यसभन्दा बाहिर परेकाहरुलाई कसैले संरक्षण दिन पर्यो नि । अनि त्यस पछि गूटबन्दी कसरी मेटिन्छ ? तर, तपाईं तयार हुनुभएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाँउमा पुग्यौं ।

राम्रा काम गरेर आफू सुरक्षीत रहनुको सट्टा साम दामको आधारमा गूटको किल्ला दह्रो बनाएर आफूलाई सुरक्षीत राख्ने नेता र कार्यक्रताले पार्टीमा आफ्नो भविश्य असुरक्षीत र पूर्वाग्रही नेताबाट आफूलाई कहिल्यै न्याय नहूने महसुश गर्नुपर्ने अवस्थाले पार्टी पलायन वा पार्टी विभाजनको दिशातिर उन्मूख हुनेछ । यो स्थितीबाट पार्टीलाई जोगाउन भरपर्दो आधार तयार गर्न ढिलो भैसकेको छ ।

गूटको चिन्ता छाडेर मैले दिएको फर्मूलामा काम गरेको भए पदाधिकारी नियूक्ति र विभाग गठन सहजै हुने थिए। पार्टीका सबै तहमा प्रशिक्षण र संगठनात्मक गतिविधीहरु उहिल्यै अघि बढेका हुने थिए । पार्टी सशक्त हुने थियो ।

आरोप नम्बर २ : निष्ठावान कार्यकर्तालाई उपेक्षित गर्नुभयो
रामचन्द्र पौडेल लेख्छन् :-
आज पार्टीका सबै निकाय, सबै भातृ शुभेच्छुक संस्था अस्त व्यस्त छन्। तपाईंले के गर्नुभयो? एउटा काम तपाईंले गर्नुभो । आफ्नो गूटको भरणपोषण। हो तपाईंको आफ्नो गुट मजबुत बन्यो होला तर विचरा कांग्रेस झनझन दुर्बल बन्यो । उठनै गाह्रो हुने गरी लथालिङ्ग हालातमा, दुःख पाएका निष्ठावान कार्यकर्ता आम रुपमा उपेक्षित र कुण्ठित ।

आरोप नम्बर ३ : तपाईंको जय जयकार गर्ने बाहेक अरु मर्माहात
रामचन्द्र पौडेल लेख्छन् :-
सुदुरपश्चिमदेखी पूर्वसम्म तपाईंको जय जयकार गर्ने बाहेक अरु मर्माहात । भन्दाभन्दै त्यत्रा आयोग, त्यत्रा नियुक्ति नबनेको नबनै रहे। कम्युनिष्टको हातमा गए । कांग्रेसीको योगदान, पञ्चायतका कालरात्री देखीको बलिदान कता हो कता। पार्टी सरकारमा गएपछि तत्काल राहातको प्याकेज ल्याएको भए पार्टीको लोकप्रियता बढ्ने थियो । तर समय सकिएपछि अन्त्यमा आएर काम चलाउ भैसकेपछि जनतालाई पस्केको राहात जस पाउलाभन्दा अपजसको भारी बनेको छ। समयमै किन नगरेको ?

Sher Bahadur Deuba and Ramchandra Paudel

आरोप नम्बर ४ : तपाईंको नेतृत्वमा न पार्टी चल्यो न सरकार
रामचन्द्र पौडेल लेख्छन् :-
तपाईंको नेतृत्वमा न पार्टी चल्यो न सरकार ! पार्टी अहिलेसम्म अपुरोको अपुरै, एउटा पनि प्रशिक्षण, एउटा पनि संगठानात्मक गतिविधि हुन सकेन । विधान अनुसारका प्रदेश अधिवेशन किन भएनन् धनुषा जिल्ला कमीटि विहिन किन बनाईयो? टिकट वितरणमा भएको मनोमानीले गर्दा योगदान भएका, सक्षम लोकप्रिय साथीहरु उम्मेदवारीबाट वञ्चित भए जस्ले गर्दा मैले पटकपटक बैठक छोडेरै हिँडनुपर्नेसम्मका नौवत आईलाग्यो परिणाम जित्ने ठाउँमा हारीयो पनि ।
तर्सथ हालै भएका निर्वाचनमा नेपाली कांग्रेसको पराजय केवल दुई कम्युनिस्टको गठबन्धनका कारण भएको होइन । यो वास्तवमा सहायक कारण हो, मुख्य कारण कांग्रेसको आन्तरिक शक्ति नै अत्यन्त कमजोर हुन पुग्नु हो ।

आरोप नम्बर ५ : अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भयो
रामचन्द्र पौडेल लेख्छन् :-

संघीयताको प्रारम्भिक अभ्यासमै कांग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, पार्टीले सातमध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन। यसले के पुष्टि गरेको छ भने हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ ।

स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचनमा यत्ति लज्जाजनक परिणामका लागि यदि पार्टीका सभापतिले कुनै नैतिक जिम्मेवारी लिनुपर्दैन भने अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझ्नुपर्ने हुन्छ । केन्द्र र सातै प्रदेशमा कांग्रेसको भूमिका प्रतिपक्षको भएको छ। तर प्रतिपक्षका रुपमा पनि, संख्याका हिसाबले, कांग्रेससँग सरकारका गलत निर्णय सच्याउन दबाब दिनुपर्ने भयो भने, बल पुग्ने छैन। त्यस अवस्थामा प्रतिपक्ष निरीह भएर बस्नुपर्ने हुनसक्छ, हुन्छ।

आरोप नम्बर ६ : तपाईले कांग्रेसको छबि ध्वस्त हुने गरी काण्ड मच्चाउनुभयो
रामचन्द्र पौडेल लेख्छन् :-
राजदूत नियुक्तिमा मैले समयमै दिएका सुझावलाई तपाईंले घोर उपेक्षा गर्नुभयो । आईजी काण्डमा त्यस्तै गर्नुभो, महाअभियोग प्रकरणमा लोकले के भन्ला? भन्ने कुरा वास्तै गर्नुभएन न्यायाधीश नियुक्तिमा अपारदर्शी शैलिको प्रयोगदेखी सबै रेकर्ड तोड्ने गरी औचित्य नै नभएका व्यक्तिहरु थुपारेर जम्बो मन्त्रीपरिषद गठनले पनि नागारिक समाजमा चरम वितृष्ण फैलायो । फिर्ता लिन बाध्य हुनुपर्ने नियुक्तिहरु, आफैंलाई घाडो बनेर लाचारी पूर्वक पछि हट्नुपर्ने महाभियोग जस्ता प्रकरणले कांग्रेसको छबि नै ध्वस्त पारे अनि जनतामा हाम्रो लोकप्रियता कहाँ पुग्यो र हामीले चुनाव जित्ने कसरी ?

आरोप नम्बर ७ : पैसाको राजनीतिले पार्टीको नैतिक शक्ति क्षीण भयो
रामचन्द्र पौडेल लेख्छन् :-

सार्वजानिक रुपमै उत्रेर बलौं भने चुनावको मुखमा पार्टीलाई झन् अप्ठेरो भनिएला भनेर सोच्दा म आफैंलाई नोक्सानी भएको छ। दोहोरो मर्का बेहोर्नु परेको छ । पार्टीमा पैसा हावी भएको कुरा प्रकट रुपमै आइरहेको छ । पैसाको राजनीतिले पार्टीको नैतिक शक्ति क्षीण गराएको छ ।

आरोप नम्बर ८ : तपाईंका अति विश्वास पात्र अर्थमन्त्रीले कामै गरेनन्
रामचन्द्र पौडेल लेख्छन् :-
पार्टी सरकारमा रहेको अनुभुति कतै भएन । तपाईंका अति विश्वास पात्र अर्थमन्त्रीले मन्त्रालयहरुलाई विकास बजेट र राहत बजेट सबै रोकेर राखे । क्याबिनेटमा भएका मन्त्री पनि एकथरीलाई सौतेलो व्यवहार भएको गुनासो छ ।

आरोप नम्बर ९ : मधेसका नेताका लागि सुरक्षित गरेर कांग्रेसलाई कमजोर बनाइयो
रामचन्द्र पौडेल लेख्छन् :-
चुनाव प्रचण्ड वा केपी कै नेतृत्वमा भएको भए पनि अहिलेको भन्दा हाम्रो हालत राम्रो हुन्थ्यो । जनतको सहानुभुति र माया हामी माथि रहन्थ्यो । आज हामीले जनताको सहानुभुति पनि भोट पनि दुवै गुमाएका छौं । ‘प्रचण्डलाई एमाले सरकारबाट छुटाएर ल्याएँ’ भनेर गर्व गर्नुभयो, फेरी छोडेर एमालेमा मिल्न पुग्दा के प्रयत्न गर्नु भो ? वाम गठवन्धन कसरी बन्यो ? प्रचण्डलाई यतै राख्न मैले सहयोग गरेकै थिएँ र गर्न चाहेकै थिएँ । मधेश आधारित दलहरुसँग एकता वार्ता गम्भीर रुपले हुँदै भएन । उनका नेताहरुलाई भने ठाउँ सुरक्षित गरिदिने, हामीले के लियौं ? राप्रपासँगको गठबन्धनको औचित्य पुष्टी हुन नसकेको मात्र हैन हाम्रो हातमा उल्टो परिणाम आयो ।

आरोप नम्बर १० : भोगको गिनिजबूकमा नाम लेखाउन खोजियो
रामचन्द्र पौडेल लेख्छन् :-
मैले शुरुमै भने झैं मुल्याङ्कनमा चल्न र गूट मास्न तपाईं तयार भैदिएको भए तपाईं सिंगो कांग्रेसको हाई–हाईको नेता बन्नुहुन्थ्यो। तपाईंले त्यागको उदाहरण प्रस्तुत गरेको भए तपाईं र पार्टी दुवैको हित हुन्थ्यो । इतिहास निर्माण गर्न सक्नुहुन्थ्यो । भोगको गिनिजबूकमा नाम लेखाउन खोज्दा मान्छेले कस्तो नजरले हेरेका छन् ? आशक्तिबाट माथि उठनसक्नुभएको भए गिरीजाबाबुले जतिकै पनि अलिकति उदार बनेको भए– कुनै साथीलाई प्रममा अघि सारेर तपाईं चुनावको महारथी बनेको भए, परिणाम यो हालतमा पुग्ने थिएन। सबैले भनेको यो कुरा तपाईंले वेवास्ता गर्नुभो। परिणाम यस्तो आयो।

आरोप नम्बर ११ः यो कस्तो कुर्तक ?
रामचन्द्र पौडेल लेख्छन् :-

‘पार्टी हारेको होईन उम्मेदवार हारेका हुन् !’ यो कस्तो कुर्तक? निर्वाचन पार्टीले लड्ने हो उम्मेदवार त्यसका प्रतिक हुन् भन्ने कुरा पनि तपाईंलाई हेक्का रहेनछ । सात–सातवटा प्रदेश मध्ये एउटा प्रदेशमा पनि आज कांग्रेसले खुट्टा राख्ने ठाउँ छैन । कस्तो नहारेको कांग्रेस हगी ? त्यहाँ तपाईंले शेरबहादुर जिन्दावाद भनेर सिकाउनुभयो, कांग्रेस जिन्दावाद सिकाउनुभाको रैनछ, आज समयले त्यही देखायो। परिणाम त्यस्तो आयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७