काठमाडौं उपत्यकामा एक साता थपियो निषेधाज्ञा, सरकारी गाडी दिउँसो कुद्न नपाउने


११ जेष्ठ २०७८, मंगलवार
kathamandu luckdawan 4 scaled

काठमाडौं, ११ जेठ । काठमाडौं उपत्यकामा जेठ २० गतेसम्मका लागि निषेधाज्ञाको अवधि लम्ब्याउने निर्णय गरिएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो । जेठ २० सम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौं उपत्यकामा वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा जेठ १३ मा सकिँदै छ । मंगलबार काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला सहभागी बैठकले सो निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् । मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारीसाधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अनलाइनखबरसँग भने, ‘अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।’

प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाएको छ । मंगलबार चौथो पटक निषेधको आदेश थप्दै प्रशासनले निषेधाज्ञामा कडा प्रावधान ल्याएको हो । प्रजिअहरुको बैठकले निषेधाज्ञा जारी गरेपछि कोभिड–१९ संक्रमण नियन्त्रण भएको निष्कर्ष निकालेका छन् ।

भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७