कोरोना परीक्षण गर्न लुकेर स्वास्थ्य संस्था धाउँदै


२२ जेष्ठ २०७८, शनिबार
korona doctor

सिन्धुली, २२ जेठ । सिन्धुलीमा कोभिड–१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरेका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेका सङ्क्रमित रातको समयमा मात्र स्वास्थ्य संस्था जाने गरेका हुन् । समुदायमा कोरोनाको सङ्क्रमण फैलिरहेको छ । सङ्क्रमणका लक्षण देखिए पनि परीक्षण गर्न नआउँदा सङ्क्रमित थपिँदै र सङ्क्रमण फैलँदै गएको छ ।

सङ्क्रमण भएका व्यक्तिलाई रोगको भन्दा समुदायको डर छ । सङ्क्रमणका लक्षण देखिए पनि पिसिआर परीक्षण नगरी घरमै बस्दा सङ्क्रमणको स्थिति झन् भयावह हुनसक्ने सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा. धिरेन्द्रकुमार सुदा भन्छन् ।

‘दिउँसो सुनसान हुन्छ यहाँ रात परेपछि ‘कोरोना परीक्षण गर्नु परो’ भन्दै धेरै आउनुहुन्छ, हामी परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाइदिन्छौँ, कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्ति सबैले स्वास्थ्य संस्थामा नै बस्नुपर्छ भन्ने हुन्न’, उनले भने, ‘सङ्क्रमणका लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिने, सास फेर्न गाह्रो हुनु जस्ता लक्षण भएका बिरामीलाई हामी आइसोलेशनमा राखेर उपचार गर्दै आएका छौँ ।’

सिर्थौली कोभिड–१९ अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिले भने, ‘गाउँमा ज्वरो आउने, खोकी लाग्ने, छाती दुखो भन्ने बिरामी धेरै छन्, केही त ठीक भइसके तर केहीलाई उस्तै छ, यतिबेला रोगको भन्दा समुदायको ठूलो डर छ, दुधौली नगरपालिकाले कोरोना सङ्क्रमितको घरमा स्टिकर टाँसिदिँदा परीक्षण गराउन आउन नमान्ने धेरै छन् ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७