ब्यालोन डी’ओर : ‘मेस्सी र रोनाल्डोभन्दा कान्टे अगाडी’


२३ जेष्ठ २०७८, आईतवार
messi

काठमाडौं, २३ जेठ । फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पल पोग्बाले आफ्ना राष्ट्रिय टोलीका सहकर्मी एनगोलो कान्टेले विश्व फुटबलको सर्वोच्च व्यक्तिगत अवार्ड ब्यालोन डी’ओर जित्ने दावी गरेका छन् ।

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बाले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको तुलनामा कान्टेले सफल सिजन बिताएको भन्दै मिडफिल्डरले ब्यालोन डी’ओर जित्ने दावी गरेका हुन् । ३० वर्षीय कान्टेले उच्च प्रदर्शन गर्दा चेल्सीले क्लब इतिहासमा दोस्रो पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । कान्टे सेमिफाइनल र फाइनलमा प्लेयर अफ द म्याच समेत चुनिएका थिए ।

‘म सर विश्वलाई के भन्न चाहन्छु भने एनगोलोले पछिल्लो केहि महिना मात्र होइन, लामो समयदेखि यो प्रदर्शन गर्दै आएका छन् । हामी उनको प्रदर्शनको चर्चा गरिरहँदा उनी लगातार यसै स्तरमा खेलिरहेको बिर्सन हुँदैन,’ पोग्बाले भने ।

‘यसपटक रोनाल्डो र मेस्सी दुवैले च्याम्पियन्स लिगको सेमिफाइनलमा पनि स्थान बनाउन सकेनन् । त्यसैले पनि यसपटक मिडफिल्डरको प्रदर्शन वा भनौं डिफेन्डरकै प्रदर्शनलाई पनि हेर्न जरुरि छ,’ उनले थपे ।

‘मैले धेरै अघि यो भनेको थिएँ । यसपटक चेल्सीले च्याम्पियन्स लिग पनि जितेको छ । उनी अवार्डको हकदार छन्,’ पोग्बाले भने, ‘उनले जस्तो प्रदर्शन गरेका छन्, त्यसले मलाई आश्चर्यमा पारेको छैन । जसरी उनले नियमित शीर्ष स्तरमा एकै खालको प्रदर्शन गर्छन्, त्यो भने अचम्म लाग्दो छ ।’

कान्टेसँगै यसपटक बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई पनि बलियो दाबेदारका रुपमा हेरिएको छ । यसपटक युरोपेली च्याम्पियनसिप पनि हुँदै गरेकाले यसको नतिजाले पनि उपाधिमा असर गर्नेछ । कान्टे फ्रान्सको जर्सीमा उत्रँदा लेवान्डोस्कीले पोल्यान्डको कप्तानी गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७