प्रदेश–२ का मुख्यमन्त्री राउतले महन्थ पक्षका चार मन्त्रीलाई गरे बर्खास्त


२४ जेष्ठ २०७८, सोमबार
lalbabu

जनकपुरधाम, २४ जेठ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले जितेन्द्र सोनललगायत चार मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश–२ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल सरकारलाई बर्खास्त गरेको निर्णय गरेका हुन् ।

जसपाभित्र विवाद बढ्दै गर्दा राउतले उनीहरुलाई बर्खास्त गरेका हुन् । चारै जना मन्त्रीहरु महन्थ ठाकुर र राजेन्द्र महतो निकट नेताहरु हुन् । जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदार गर्दै शुक्रबार ओली नेतृत्वको सरकारमा सहभागी भएको छ भने जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने कांग्रेस र माओवादी केन्द्र सहितको विपक्षी गठबन्धनमा रहेको छ।

प्रदेश–२ को मुख्यमन्त्री राउत यादव पक्षका हुन् । हटाइएका सबै मन्त्रीहरु पूर्व राजपाका हुन् । तर राजपा मध्येकै राजेन्द्र महतोको कोटामा मन्त्री बनेका नवलकिशोर साह र महेन्द्र राय यादवको कोटामा मन्त्री बनेका रामनरेश रायको कुर्सी जोगिएको छ ।

उनीहरु पछिल्लो समय आफ्नो कित्ता परिवर्तन गरी पद जोगाउन उपेन्द्र यादव पक्षमा लागेका थिए । दुबै मन्त्री जसपाको कार्यकारिणी सदस्य रहेका छन् । ठाकुर पक्ष सरकारमा गएसंगै उपेन्द्र यादव प्रदेश– २ सरकारको सत्ता समीकरणको लागि सक्रिय भएका छन् । उनले शुक्रबार नै सत्ता समीकरणको लागि काँग्रेस उपसभापति बिमलेन्द्र निधिसंग भेटबाता गरेका थिए ।

शुक्रबार साँझ जनकपुर आएका यादवले सत्ता समिकरण हेरफेर गर्न पार्टी भित्र तथा सत्ता साँझेदार गर्ने दल काँग्रेस र माओवादीका नेताहरुसंग छलफल गरेका छन् । यसैबीच काँग्रेस संसदीय दलको बैठकले सत्ता समीकरण तथा सरकारमा सहभागी हुने विषयमा छलफल तथा वार्ताका लागि दलका नेत रामसरोज यादवलाई जिम्मेबारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७