कोरोना र नेतृत्वको सत्ता चासोले कांग्रेसको १४ औं महाधिवेशन अन्योलमा


२४ जेष्ठ २०७८, सोमबार
congress

काठमाडौं, २४ जेठ । कोरोना महामारीसँगै सत्ताको खेलमा अल्झिँदा कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ । बढ्दो कोरोना संक्रमण र तरल राजनीतिक घटनाक्रमकोे प्रभाव कांग्रेसको महाधिवेशन तयारीमा देखिएको छ ।

नियमित कार्यकाल सकिएर थप गरेको डेढ वर्षको समयावधिसमेत गुज्रिन थालेपछि फेरि पनि महाधिवेशन हुँदैन कि भन्ने प्रश्न कांग्रेसभित्र उठ्न थालेको छ । शीर्ष नेता पूर्ववत् तालिकाअनुसार नै सैद्धान्तिक रूपमा भदौभित्रै महाधिवेशन गर्न सहमत देखिन्छन् । तर, सुस्त तयारी र महामारी संकटले महाधिवेशन अनिश्चित बनाइराखेको छ ।

कांग्रेसभित्र महाधिवेशनलाई लिएर नेताहरूबीच आरोप–प्रत्यारोप र आंशका छन् । संस्थापन पक्षले कोरोनाका कारण पूर्व तयारीका लागि अनुकूल वातावरण नबनेको बताएको छ । संस्थापनइतर पक्षका नेताहरूले पार्टी नेतृत्वले महाधिवेशन गर्न नचाहेको आरोप लगाउँदै आएका छन् ।

पूर्व निर्धारित महाधिवेशनको कार्यतालिकाअनुसार वडा तहको अधिवेशनका लागि अब दुई साताको मात्रै समय बाँकी छ । तर, अहिलेसम्म वडाको अधिवेशनका मतदाता अर्थात् क्रियाशील सदस्यताको विवरण नै संकलन भइसकेको छैन । त्यसमाथि उजुरी र छानबिनको प्रक्रिया बाँकी छ । जब कि १३औँ महाधिवेशनमा क्रियाशील सदस्यता छानबिनका लागि मात्रै ६ महिना लागेको थियो ।

सभापति शेरबहादुर देउवाले आफूले समयमै महाधिवेशन गर्न चाहे पनि महामारी र संगठनभित्रको विवादका कारण पूर्वतयारीका काम प्रभावित भएको बताउँदै आएका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले भने महाधिवेशन टार्नका लागि सभापति र उपसभापतिले आफ्नो प्रभाव भएका ठाउँमा जबर्जस्ती विवाद झिक्ने र क्रियाशील सदस्यतादेखि नै कब्जा गर्ने नियत राखेको आरोप लगाएका छन् । पौडेलले बुधबार मात्रै संस्थापनइतरको भेला राखेर भदौमै पार्टीको चुनाव गर्ने गरी प्रक्रिया अघि बढाउन र तत्काल केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७