गण्डकी प्रदेशसभा बैठक शुरु : मुख्यमन्त्री गुरुङले मागे विश्वासको मत


२७ जेष्ठ २०७८, बिहीबार
prithivi subba
फाइल फोटो

पोखरा, २७ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा बैठक शुरु भएको छ । प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन । अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिरहेका छन् ।

यसअघि विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने बेला वैशाख १५ मा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएको सूचनापछि प्रदेशसभा बैठक स्थगित भएको थियो । त्यसपछि वैशाख २७ मा अविश्वास प्रस्तावमाथि मतदानको कार्यसूची तय गरिएकोमा त्यसको अघिल्लो दिननै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र २ वा त्यसभन्दा बढी दललाई सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

मुख्यमन्त्रीविरुद्ध गठबन्धन बनाएका विपक्षीले बहुमत दाबी गर्दै प्रदेशप्रमुखसमक्ष गए पनि बहुमत नपुगेको भन्दै प्रदेश प्रमुखले गुरुङलाई नै ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने आधार भने छैन । सरकार बचाउन र बनाउन ३१ सांसदको आवस्यकता पर्छ । प्रदेशसभामा एमालेका २७ सांसद छन । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाएपछि मुख्यमन्त्रीको पक्षमा थिए । तर उनले प्रदेशसभा भंग गर्न नहुने भन्दै विपक्षी गठबन्धनलाई सघाउने आशयसाथ आजै बिहानदेखि सम्पर्कविहीन भएका छन् ।

राष्ट्रिय जनमोर्चाका सांसद थापाले पनि पार्टीमा विद्रोह गरी मुख्यमन्त्रीमा गुरुङलाई सघाउने भन्दै आएका छन । सरसर्ती हेर्दा मुख्यमन्त्री गुरुङको पक्षमा २९ मत देखिए पनि मन्त्री दीपक मनाङेको निश्चित छैन । अन्य दलका सांसदहरुले फ्लोरक्रस नगरे मुख्यमन्त्रीले विश्वासको मत पाउने छैनन् ।

विपक्षी गठबन्धनसंग पनि अहिल्यै बहुमत सांसद देखिँदैनन् । दीपक मनाङेले समर्थन गरे भने बहुमत पुग्छ । तर सत्तापक्ष विपक्षीलाई कुनै पनि हालतमा बहुमत पु¥याउनबाट रोक्नेमै केन्द्रित छ । यसो भएमा कसैको पनि बहुमत नपुगेको भन्दै प्रदेशसभा विघटनसमेत हुनसक्ने आकलन गरिएको छ । विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका ३ (एक जना कृष्ण थापाले विपक्षीलाई नसघाउने भनेका छन) र जनता समाजवादीका २ सांसद छन् ।

यस्तो अवस्थामा विपक्षी गठबन्धनमा ३० मत छ । सभामुखले राजीनामा दिएर ३१ पु¥याउने अन्तिम कसरत पनि उनीहरुको छ । विपक्षी गठबन्धनले प्रदेश प्रमुखले जालझेल गर्न सक्ने भन्दै बुधबार भेटेर त्यस्तो नगर्न भनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७