‘शून्यता निम्त्याई खेल्ने ओली रणनीति’


२९ जेष्ठ २०७८, शनिबार
KP Sharma oli 1 1

काठमाडौं, २९ जेठ । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकले प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको उद्देश्य निर्वाचन नगराई भ्याकुमको अवस्थामा मुलुकलाई पुर्‍याउनु रहेको ठहर गर्दै सचेत रहनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा विघटन भएपछिको परिस्थितिबारे छलफल गर्न सभामुखले पूर्व प्रधानमन्त्री, दलका शीर्ष नेता र संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई शुक्रबार बोलाएका थिए । संसद् भवन नयाँ बानेश्वरमा आयोजित छलफलमा पूर्व प्रधानमन्त्री तथा शीर्ष नेताहरूले संविधान असफल बनाउने प्रपञ्च प्रधानमन्त्री ओलीले गरेको भन्दै त्यसलाई रोक्न अहिल्यै सचेत भएर लाग्नुपर्ने निचोड निकालेका हुन् ।

‘सर्वोच्च अदालतमा संसद् विघटनको मुद्दा विचाराधीन छ । यो असंवैधानिक कदम भएकाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्छ भन्ने हामीलाई विश्वास छ । कथंकदाचित प्रतिगामी शक्तिको खेलमा संसद् पुनर्स्थापना भएन भने मुलुक संविधान नै असफल हुने दिशामा जानेछ । अहिले सभामुखले पनि यसमा सचेत भएर बस्नुपर्ने बेला आएको छ भन्ने निष्कर्ष रह्यो’, बैठकपछि एक सहभागी नेताले भने ।

‘छ महिनाभित्र निर्वाचन हुन ओलीले नै दिँदैनन् । त्यसपछि हुने भ्याकुमको अवस्थामा खेल्ने रणनीति उनको हुनेछ । उनलाई कुनै पनि हालतमा सफल हुन दिनुहुँदैन भन्दै पूर्वप्रधानमन्त्रीहरूले सभामुखलाई समेत सचेत रहन आग्रह गरे’, स्रोतले भन्यो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट पटकपटक संसद् विघटन गरिनु निरंकुशता र स्वेच्छाचारिताको पराकाष्ठा भएको ठहर छलफलमा गरिएको थियो ।

छलफलमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद् पुनर्स्थापना भएन भने ६ महिनाभित्र निर्वाचन गर्न प्रधानमन्त्री ओली तयार नहुने अवस्था देखिएको भन्दै सचेत रहनुपर्ने बताएका थिए । निर्वाचन नै नभएपछि आउने शून्यताको अवस्थाले व्यवस्था नै फेल गराउन सक्ने खेलप्रति सचेत हुनुपर्ने बेला आएको आफूले छलफलमा बताएको उनले जानकारी दिए ।

उनले भने, ‘संसद् पुनर्स्थापना हुन्छ भन्ने हामीलाई विश्वास छ तर प्रतिगामी शक्तिको खेलमा पुनर्स्थापना भएन भने लोकतन्त्र खतरामा पर्नबाट बचाउन अहिल्यै सचेत हुनुपर्ने बेला आएको छ ।’ नेपालमा भएको परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्र मन नपराउने आन्तरिक तथा बाह्य शक्तिले खेल्ने प्रयास गरिरहेको तर्फ आफूले सबैलाई सचेत बनाएको डा. भट्टराईले बताए । ‘सभामुखले पनि लोकतन्त्र बचाउने प्रयासमा लागिरहने बताउनु भयो’, उनले भने ।

जसपा अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र खतरामा पर्न लागेकाले त्यसलाई बचाउन सबै सचेत हुनुपर्ने बेला आएको निष्कर्षमा पुगेको बताए । नेमकिपाका प्रेम सुवाल र राप्रपाको प्रतिनिधिले भने संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला नआउँदै यस विषयमा छलफल गर्नु उचित नभएको बताएका थिए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, डा. भट्टराई र झलनाथ खनाल (भर्चुअल) सहभागी थिए । यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाबाट दीपक बोहोरा र नेमकिपाबाट सुवाल सहभागी थिए । छलफलमा प्रधानमन्त्री ओलीलाई पनि बोलाइएको थियो तर उनी अनुपस्थित थिए भने जसपा महन्थ ठाकुर समूहको पनि उपस्थिति थिएन ।

त्यस अवसरमा समसामयिक राजनीतिक विषयसँगै राष्ट्रिय संकट र कोरोना महामारीबारे पनि छलफल भएको थियो । महामारीको रोकथाम, खोप आपूर्तिसँगै राजनीतिक संकट समाधानका लागि साझा धारणा हुनुपर्नेमा सबैको एकमत रहेको बैठकमा सहभागी नेताहरूको भनाइ छ । सरकारले गिट्टी बालुवा निकासी गर्ने तयारी गरेकोप्रति नेताहरूले आपत्ति जनाएको एक नेताले बताए । प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७