प्रधानमन्त्रीविरुद्ध आपतिजनक अभिव्यक्ति दिने सांसद वैद्यविरुद्ध हत्या दुरुत्साहन मुद्दा दर्ता


३१ जेष्ठ २०७८, सोमबार
nn.jpg .2021 06 12

काठमाडौं, ३१ जेठ । बागमती प्रदेशका सांसद नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा हत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

कांग्रेस सांसद वैद्यले गएको शुक्रबार प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले देश सिध्याउन लागेको भन्दै त्यसलाई रोक्न कोही नाथुराम गोड्से बन्नुपर्ने अन्यथा आफैं बन्ने अभिव्यक्ति दिएका थिए । गोड्से भनेका ती व्यक्ति हुन्, जसले महात्मा गान्धीको हत्या गरेका थिए ।

वैद्यको उक्त अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो । विरोधपछि सांसद वैद्यले प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति फिर्ता लिएका थिए । शनिबार बसेको प्रदेश सभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले आत्मालोचनासमेत गरेका हुन् । आफू भावावेशमा आएर प्रधानमन्त्रीविरुद्ध त्यस्तो अभिव्यक्ति दिन पुगेको उनको भनाई छ ।

वैद्यको अभिव्यक्तिलाई लिएर युवा संघका मकवानपुर जिल्ला कमिटी सदस्य अनिल काफ्लेले प्रहरीमा उजुरी दर्ता गराएका हुन् । वैद्यको अभिव्यक्ति मुलुकी अपराधसंहिताविरुद्ध रहेको उल्लेख गर्दै उजुरीमा वैद्यलाई ज्यान मुद्दाको आधा सजाय गर्न माग गरिएको छ ।

वैद्यले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (१) तथा सोही संहिताको दफा ३५ (१ र २) को कसुर गरेको जाहेरीमा उल्लेख छ । त्यसैगरी प्रधानमन्त्रीको हत्या गर्न उक्साउने वैद्यको अभिव्यक्ति सोही संहिताको उपदफा ३ (ख) बमोजिम मुलुकी अपराधसंहिता २०७४ को दफा ७७ (२) जन्मकैद सजायको आधा सजाय हुने काफ्लेले दिएको जाहेरीमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७