‘ह्याप्पी डेज’ सरेको सरै : चैत २ गते प्रर्दशनमा आउने
एक लाखको कभर भिडियो प्रतियोगिता
काठमाडौं, १५ फागुन । चलचित्र ‘ह्याप्पी डेज’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ। निर्माण पक्षको अनुसार चलचित्र अब चैत्र २ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । यस अघि चैत १६ मा प्रदर्शन गर्ने भएता पनि अब चलचित्र दुई साता अघि नै रिलिज हुने निर्देशक मिलन चाम्सले जानकारी दिए ।
ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ ११ लाई सरेको थियो । तर माघ ११ मा बलिउडका दुई ठूला फिल्म ’पद्मावत’ र ‘प्याडम्यान’ प्रदर्शन हुने भनिएपछि फिल्म पुनः एकपटक पर सर्यो । तेस्रोपटक चैतको १६ गते फिल्म सार्वजनिक हुने भनियो । तर अब पुनः फिल्म दुई साता अगाडी सरेको छ ।
दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित फिल्मले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा बोल्छ । फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ ।
बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ ।
कभर भिडीयो प्रतियोगीता आयोजना
नयाँ रिलिज मितिसँगै निर्माण पक्षले कभर भिडियो प्रतियोगिता पनि घोषणा गरेको छ । जसमा सहभागी हुन् इच्छुकले हिट गीत ‘चेप्टे चेप्टे पेरुंगो’मा कभर भिडियो बनाउनु पर्नेछ । कभर भिडियो तयार भएपछि जुन सुकै युट्युब च्यानलबाट अपलोड गरी ‘हयाप्पी डेज’ अफिसियल फेसबुक पेजमा लिङ्क सेन्ड गर्नु पर्नेछ ।
युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले विजय घोषणा गरि १ लाख नगद पुरस्कार प्रदान गर्नेछ । कभर भिडियो प्रतियोगिताको अन्तिम समय फागुन मसान्तसम्म रहेको छ ।