घिमिरे र केसी सर्वोच्च बारबाट एमिकस क्युरीमा सिफारिस


१ असार २०७८, मंगलवार
amikas

काठमाडौं, १ असार । सर्वोच्च अदालत बार एशोसिएसनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीको नाम सिफारिस गरेको छ ।

सर्वोच्च अदालत बारको मंगलबार बसेको बैठकले एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीको नाम सिफारिस गरेको सचिव ऋषिराम घिमिरेले जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालत बारबाट एमिकस क्युरीका लागि झिकाउने आदेश दिएको थियो ।

नेपाल बार एसोसिएसनले भने एमिकस क्युरीमा पठाउने सदस्यको नाम मंगलबार बिहानसम्म टुंगो लगाउने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासले दुवै बारबाट दुई–दुई जना वरिष्ठ अधिवक्ताहरु सहयोगीको रुपमा माग गरेको थियो । मंगलबार बसेको सर्वोच्च बारको बैठकले घिमिरे र केसीलाई सिफारिस गरेको बारका अध्यक्ष पूर्णमान शाक्यले बताए ।

संसद विघटनको मुद्दामा असार ९ गतेदेखि नियमित सुनुवाइ शुरु हुँदैछ । उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।
नेपाल बार एशोसियशनले पनि मंगलबार नै एमिकसको निर्णय गर्दैछ । सरकारको सिफारिसमा गत जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्चमा ३० वटा रिट परेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७