बहुमत पुर्‍याउन महन्थ ठाकुरले गरे १७ जना मनोनित


२ असार २०७८, बुधबार
mahantha

काठमाडौं, २ असार । कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफू निकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन् ।

ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन् । ठाकुरले आफूनिकट ११ जना र महतोनिकट ६ जना नेतालाई कार्यकारिणी समितिको सदस्य बनाएका छन् ।

ठाकुरनिकट स्रोतले दिएको जानकारी अनुसार ठाकुरले यादवनिकट कार्यकारिणी समितिका सदस्यहरूलाई हटाएर त्यसको ठाउमा आफूनिकट नेताहरूलाई कार्यकारिणी समितिमा राखेका छन् । जसपाका दुई अध्यक्ष रहने व्यवस्था भने उनले कायमै राखेका छन् । उपेन्द्र यादवको ठाउँ उनले खाली राखेका छन् ।

पहिलो अध्यक्षमा आफ्नो नाम राखेका छन् भने दोस्रो अध्यक्षमा नाम खाली राखेका छन् । ठाकुरले थपेको कार्यकारिणी सदस्यहरूमा डा. विजयसिंह, सुरेन्द्र झा, विमल श्रीवास्तव, राजीव झा, उमाशंकर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदीप यादव, सुरेश मण्डललगायत छन् । कार्यकारिणी समितिमा थपिएका अरगरैया, श्रीवास्तव, तथा इकबाल वर्तमान सरकारका मन्त्री पनि हुन् ।

ठाकुर पक्षलले थप गरेको कार्यकारिणी समितिको सूचीमा ठाकुरले मात्र हस्ताक्षर गरेका छन् । पहिलो अध्यक्षले गरेको हस्ताक्षरले वैधानिकता पाउने ठाकुरनिकट एक नेताले बताए । उनका अनुसार कार्यकारिणीमा दुई अध्यक्षसहित ५१ सदस्यीय बनाइएको छ ।

ठाकुरले गरेको मनोनयनमा पूर्वराष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारी, अनिल झा र राजिकिशोर यादव निकट व्यक्तिहरूलाई भने समेटिएको छैन । भण्डारी निकट राष्ट्रियसभामा सदस्य शेखर सिंहलाई कार्यकारिणी समितिमा राखिएको छैन । यसैगरी, ठाकुरसँग निकट मानिए पनि नखुलेका गोविन्द चौधरीलाई कार्यकारिण्ीमा राखिएको छैन ।

यता, निर्वाचन आयोगको फैसलाप्रति रुष्ट भएका जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले बुधबार कार्यकारिणी समितिको बैठक बोलाएका छन् । मंगलबार उनले केही कानुन व्यावासयीहरूसँग सरसल्लाह गरेका थिए ।

कानुन व्यावसायीहरूले पुनः निर्वाचन आयोगमा जान या सर्वोच्चमा रिट दायर गर्न यादवलाई सल्लाह दिएका थिए । यसबारेमा निर्णय गर्न बुधबार कार्यकारिणी समितिको बैठक बोलाइएको यादव पक्षले जनाएको छ । मंगलबार यादवले विज्ञप्ति निकाली निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेका थिए । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७