वर्षा र हावाहुरीले चार दिनदेखि बेपत्ता सात जनाको खोजीमा समस्या


४ असार २०७८, शुक्रबार
f0efb5215c96768dbadc3a4353270b83 w1000 h500 cp

जाजरकोट, ४ असार । भैंसी, गाई र बाख्रा लिएर चरिचरन क्षेत्र जलजला पाटनमा गएर बेपत्ता भएका सात जनाको अझै खोजी हुन सकेको छैन ।

मङ्गलवारदेखि हराइरहेका कुशे गाउँपालिका–८ र ९ औलरिजाका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय अझै सम्पर्कमा आएका छैनन् ।

हावाहुरी, पानीसहित आएको बहुकाले उडाएर बेपत्ता भएका उनीहरूको खोजीका लागि प्रहरी टोली र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाए पनि त्यहाँ पुग्न नसकेको प्रहरी नायब उपरीक्षक (डीएसपी) मधुकुमार थापाले बताए । त्यही घटनामा परेर बच्न सफल ४४ वर्षीय भक्तबहादुर रोकाय, १० वर्षीय ईश्वर रोकाय, १४ वर्षीया दुर्गा रोकाय र ५५ वर्षीया गङ्गा खड्का सम्पर्कमा आएर प्रहरीलाई खबर गरेका थिए ।

त्यस्तै जलजला पाटनमा २२ गाई, १० भैंसी र ५० बाख्रा मरेको प्रहरीले बताएको छ । बुधवार बिहान मात्र घटनाका विषयमा जानकारी आएपछि प्रहरी र स्थानीयवासीलाई घटनास्थलतर्फ पठाएको थियो । अहिलेसम्म प्रहरी र स्थानीयवासी भैंसी ओडारमा पुगेर लेक लागी बिरामी भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताए ।

घटनास्थल पुग्न पाँच घण्टाभन्दा बढी लाग्ने स्थानीयवासीको भनाइ छ । बेपत्ताको उद्धारका लागि गृह मन्त्रालय, प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पत्राचार गरिएको छ । उद्धार टोली बिरामी पर्नुका साथै पानी, हावाहुरीसहितको वर्षाका कारण माथि जान नसकेको उनले बताए । घटनास्थल समुद्र सहतदेखि चार हजार ८०० मिटर उचाइमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७