इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी


६ असार २०७८, आईतवार
isarel FjLHMaCRI8

काठमाडौं, ६ असार । इरानको राष्ट्रपतिमा कट्टरपन्थी धर्मगुरु इब्राहिम रइसी विजयी भएका छन् । तीन जना प्रतिस्पर्धीलाई हराउँदै रइसी इरानको १३ औं राष्ट्रपति बनेको बीबीसीले जनाएको छ । उनले ६२ प्रतिशत मत प्राप्त गरेका छन् । रइसीले आउँदो अगस्ट महिनाको शुरुवातमा शपथ लिने बताइएको छ ।

इरानमा राष्ट्रपति सर्वोच्च नेतापछि दोस्रो वरीयतामा पर्छ । राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्वपूर्ण प्रभाव हुन्छ । तर राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने गर्छ । रइसी अहिले इरानका प्रधानन्यायाधीश छन् र उनी अतिरूढिवादी विचार राख्छन् । रइसीविरुद्ध अमेरिकाको प्रतिबन्ध छ ।

राजनीतिक बन्दीहरूलाई दण्ड दिइएका मुद्दामा संलग्न रइसी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको पहिलो राष्ट्रपति बनेका छन् । रइसीको नेतृत्वमा इरानमा सामाजिक गतिविधिमा थप नियन्त्रण, महिलाका लागि कम स्वतन्त्रता र रोजगार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा कडा नियन्त्रणसहित कट्टरपन्थी इस्लामिक सरकार गठन गर्ने कोशिस हुने ठानिएको छ ।

कट्टरपन्थीहरू पश्चिमा विश्वलाई शङ्काको दृष्टिले हेर्छन् । तर रइसी र सर्वोच्च नेता खामेनेई दुवै अन्तर्राष्ट्रिय परमाणु सम्झौतालाई बिउँताउनु पर्ने पक्षमा रहेको ठानिन्छ । सन् २०१५ मा हस्ताक्षर भएको सम्झौताले इरानलाई उसका परमाणु गतिविधिलाई सीमित गर्ने शर्तमा पश्चिमा प्रतिबन्धहरूबाट राहत दिएको थियो ।

इरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण भएकोमा जोड दिँदै आएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा त्यस सम्झौताबाट अमेरिकापछि हट्ने निर्णय गरेर इरानमाथि पुनः व्यापार प्रतिबन्धहरू लगाएका छन् । पश्चिमी प्रतिबन्धले इरानीहरूले आर्थिक कठिनाइको सामना गर्नुपरेको छ । सम्झौता अनुसार प्रतिबन्धित गरिएको आणविक कार्यलाई इरानले पुनः सुरु गरेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७