माधव नेपाल र भिम रावलसहित देउवा निवासमा विपक्षी गठबन्धनको बैठक


९ असार २०७८, बुधबार
Bipaxi 5 dal

काठमाडौं, ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा पाँच दलीय विपक्षी गठबन्धनको वैठक बस्ने तयारी भएको छ ।

पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिमाथि छलफलका लागि विपक्षी गठबन्धनको बैठक बस्दैछ । छलफलमा देउवासहित रामचन्द्र पौडेल, बालकृष्ण खाण, पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेबाट माधव कुमार नेपाल, भीम रावल, राजमोबाट दुर्गा पौडेल सहभागी छन् । उनले बैठकमा समसामयिक विषयमा छलफल हुने जानकारी दिए ।

बुधबारबाट नै प्रतिनिधिसभा विघटनविरुद्ध र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्नुपर्ने रिटमाथिको नियमित सुनुवाइ शुरु भएको छ । यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री केपी ओलीका कदमका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको भन्दै संयुक्तरुपमा पाइला चाल्नैपर्ने अवस्था सिर्जना भएको गठबन्धनले बताएको छ ।

मंगलबार मात्रै विपक्षी गठबन्धनका शीर्ष नेताहरुले संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकिर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका थिए । त्यसको अर्को दिन गठबन्धनको बैठक बस्न लागेको हो ।

गठबन्धनका नेताहरुले विज्ञप्तीमा स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षडयन्त्र भइरहेको दाबी समेत गरेका थिए ।

विपक्षी गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एमालेका झलनाथ खनाल–माधवकुमार नेपाल समूह, जसपाको बाबुराम भट्टराई र उपेन्द्र यादव समूह एवं जनमोर्चा सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७