संसद विघटनको मुद्दा : संवैधानिक इजलासमा तेस्रो दिनको सुनुवाइ शुरु


११ असार २०७८, शुक्रबार
sambaidhanik ijalas court urmsgkJUDR 2

काठमाडौं, ११ असार । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा आज (शुक्रबार) तेस्रो दिनको सुनुवाइ चलिरहेको छ । इजलासले रिट निवेदकका लागि बहस गर्न निर्धारित समयमध्ये ४ घण्टा ४५ मिनेट बाँकी छ । शुक्रबार सोही बाँकी समयभित्र रिट निवेदकका पक्षबाट कानुन व्यवसायीले बहस गर्दैछन् ।

शुक्रबार शुरुमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले बहस थालेका छन् । उनलाई २० मिनेटको समय दिइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट अर्यालले बहस शुरु गरेका हुन् । बिहीबार वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, मिथिलेशकुमार सिंह, हरि उप्रेती, शेरबहादुर केसी, बोर्णबहादुर कार्की, गान्धी पण्डित र खगेन्द्र अधिकारीले बहस गरेका थिए ।

प्रतिनिधिसभा विघटन विरुद्ध दायर रिट निवेदनमाथि सुनुवाई गर्ने बेञ्चमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । यसपछि अन्य कानून व्यवसायीले बहस गर्नेछन् । निवेदक पक्षबाट आज २९ जना कानून व्यवसायीले बहस गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा ८ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्। त्यसका विरुद्ध कांग्रेस सभापति देउवासहित विघटित प्रतिनिधि सभाका १४६ जना सांसद र कानून व्यवसायीले ३० वटा निवेदन दिएका छन् ।

तीमध्ये २६ निवेदनमा प्रतिनिधि सभा पुनः स्थापना गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग गरिएको छ भने चार निवेदनमा प्रतिनिधि सभा पुनः स्थापना गरी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७