मुलुकलाई निकास दिन ताजा जनादेशको विकल्प छैन : गृहमन्त्री पौडेल

डाइभर्सन आयोजना कार्यालय उद्घाटन, तटीय क्षेत्रका जनप्रतिनिधिको विरोध


१२ असार २०७८, शनिबार

रुपन्देही, १२ असार । गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकलाई राजनीतिक निकास दिन ताजा जनादेशमा जानुको विकल्प नभएको दावी गरेका छन् । उनले निर्वाचन अगाडि सबै नेपालीलाई खोप उपलव्ध गराउने दावी गर्दै जनता भोट हाल्न जाँदा मास्क खोलेर जान सक्ने वातावरण बनाउने समेत बताए ।

गृह जिल्ला रुपन्देहीको बुटवलमा आज कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालयको बुटवलमा उद्घाटन गर्दै पौडेलले निर्वाचन नै अबको निकास भएको जिकिर गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि अन्य दलले वैकल्पिक सरकार बनाउन नसक्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर गर्दै मन्त्री पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकाले ताजा जनादेशबाटै मुलुकले निकास पाउने तर्क गरे ।
संविधान निर्माणपछि राजनीतिक मुद्दामा नभई विकास र समृद्धिमा लाग्ने अठोट गरिए पनि अनपेक्षित दृष्य देखा परेको बताए । उनले सरकारले निर्वाचनमा गरेको बाचाअनुसार विकासका नयाँ नयाँ काम गरेको पनि दावी गरे ।

‘चाहे पूर्वाधारको विकासका लागि होस् या चाहे मानव सूचकांकका हिसावले होस्, एकपछि अर्को राम्रो काम भएका छन्, अझै हुन्छन् सबैले अनुभूति गरेका छन्’, उनको जिकिर थियो । कोभिड विरुद्धको खोप छिटो भन्दा आपूर्ति गरेर जनतालाई लगाउनुपर्ने आवश्यकता रहेको भन्दै उनले खोपको प्रक्रिया शुरु भएपछि बीचमा रोक्न नपर्ने गरी काम भईरहेको बताए । २०६५ सालमा आफू जलस्रोत मन्त्री हुँदा कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सोचलाई शुरुमा कतिपयले विश्वास नगरी चुनावी प्रचार जस्तै ठानेको स्मरण गर्दै मन्त्री पौडेलले अव योजना अगाडि बढेको बताए ।

डाइभर्सन आयोजना कार्यालय उद्घाटन, तटीय क्षेत्रका जनप्रतिनिधिको विरोध
कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएको छ । कार्यालयको उपप्रधानमन्त्री विष्णु पौडेलले शनिबार उद्घाटन गरेका हुन् । गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने नारायणी नदीमा मिसिने कालीगण्डकीको पानी तिनाउ नदीमा मिसाएर रुपन्देही र कपिलवस्तुमा सिञ्चाइ गर्ने उद्देश्य यो आयोजनाको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा बाँध बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान र दोभानबाट बुटवलको बेलबाससम्म थप ७ किलोमिटर सुरुङ खनेर तिनाउमा पानी झार्ने योजना छ । यो आयोजना सम्पन्न गर्न १ खर्ब ८० अर्ब लागत अनुमान गरिएको छ ।

आयोजनाको कार्यालय उद्घाटनसंगै यसले नदी तटीय क्षेत्रका बासिन्दामा तरंग ल्याएको छ । डाइभर्सन आयोजनाले लुम्बनी प्रदेशका पाल्पा, गण्डकीको स्याङ्जा र तनहुँसम्मका १० वटा स्थानीय तह प्रत्यक्ष प्रभावित हुने भन्दै यो आयोजनाको विरोध हुँदै आएको छ ।
दोभानमा बन्ने विद्युत आयोजनाबाट एक सय मेगावाट र बेलवासको विद्युत आयोजनाबाट २६ मेगावाट विद्युत उत्पादन गर्ने योजना रहेको आयोजना प्रमुख सन्तोष कैनीले बताए । दोभान र बेलबासमा झर्ने पानीबाट रुपन्देही र कपिलवस्तुमा एक लाख हेक्टर जमिनमा सिञ्चाइ सुविधा पुग्ने कैनीले जानकारी दिए ।

करिब ९ मिटर चौडा सुरूङमार्गमार्फत कालीगण्डकीको ८२ घनलिटर प्रतिसेकेन्ड पानी तिनाउ नदीमा पुर्‍याउन सकिने उनले बताए । बेलवासबाट कपिलवस्तुको बाणगंगासम्म ३८ किलोमिटर लामो नहर बनाउने गरी डीपीआर बन्ने छ । दोभानबाट तिनाउमा खसालिएको आधा पानी १४ किलोमिटर लामो पूर्वी नहर हुँदै तिनाउ पूर्वका क्षेत्रमा सिँचाइका प्रयोग गर्ने योजना रहेको छ ।
तटीय क्षेत्रका जनप्रतिनिधिको विरोध

आयोजनाको कार्यालय उद्घाटनसँगै यसले नदी तटीय क्षेत्रका बासिन्दामा तरङ्ग ल्याएको छ । डाइभर्सन आयोजनाले लुम्बनी प्रदेशका पाल्पा, गण्डकीको स्याङ्जा र तनहुँसम्मका १० वटा स्थानीय तह प्रत्यक्ष प्रभावित हुने भन्दै यो आयोजनाको विरोध हुँदै आएको छ ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यो आयोजना कुनै हालतमा अघि बढ्न नदिने बताएका छन् । ‘गण्डकी प्रदेश सरकारसंग समन्वय नै नगरी एकतर्फी ढंगले डाइभर्सन आयोजना अघि बढाएर सरकारले प्रदेश प्रदेशबीच द्वन्द्व निम्त्याउने काम गर्दैछ’ मुख्यमन्त्री पोखरेलले भने, ‘डाइभर्सनको यसअघिको सरकारले पनि विरोध गरेको थियो, अहिलेको सरकार पनि डाइभर्सन कुनै हालतमा अघि बढाउन हुन्न भन्ने पक्षमा छ ।’

गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङलगायतले पनि यो डाइभर्सन आयोजना अघि बढ्न नदिने अभिव्यक्ति दिएका थिए ।

डाइभर्सन आयोजनाले रम्भा गाउँपालिका, रामपुर नगरपालिका, चापाकोट नगरपालिका, निस्दी गाउँपालिका, घिरिङ गाउपालिका, देवघाट गाउँपालिका, बुलिङटार गाउँपालिका, बौदीकाली गाउँपालिकाका हजारौं परिवार प्रभावित हुने पाल्पाको रामपुर नगरपालिलाका प्रमुख रमणबहादुर थापाले बताए ।

‘डाइभर्सनले धार्मिक, सांस्कृतिक, वातावरणीय, पर्यटकीय धेरै हिसाबले नदी तटीय क्षेत्रलाई नराम्रो असर पर्छ’ नगर प्रमुख थापाले भने, ‘हामीले पहिल्यैदेखि विरोध गर्दै आएका हौं, अब संगठित ढंगले लाग्छौं र कुनै हालतमा सफल हुन दिन्नौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७