‘राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन रे, हु हिज केपी ओली ?’


१२ असार २०७८, शनिबार
Prachanda

काठमाडौं, १२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका सहमति कार्यान्वयन नगर्दा देश गम्भीर अवस्थामा पुगेको बताएका छन् ।

आज (शनिबार) विपक्षी गठबन्धनले बानेश्वरमा गरेको पत्रकार सम्मेलनमा उनले पार्टी एकता भएको अवस्थामा केपी ओलीले सम्झौता कार्यान्वयन नगरेको बताए । ‘केपी ओलीसँग भएका सम्झौतामा अडिग नहुनु मेरो कमजोरी हो,’ उनले भने, ‘मेरो मन अलि उद्धार र कमलो छ, भर्खरै एकता भाको पार्टीमा किन झगडा निम्त्याउनु भनेर मैले छाडिदिएको हो ।’ सम्झौतामा हस्ताक्षर गरेको विषय केपी ओली मान्न तयार नभएको उनले बताएका छन् । उनले भने, ‘सम्झौतामा सही गरिसकेको छ,’ उनले भने, ‘मान्दैनन्, अब मैले के गरौं ?’

अध्यक्ष प्रचण्डले अहिले संविधानमाथि निरंकुश प्रहार गरिएको बताएका छन् । देशलाई अप्ठ्यारोमा धकेल्ने प्रयास भइरहेको उनको भनाइ छ । उनले शासन सञ्चालन गर्नेहरुबाट संविधान मिच्ने काम भएको बताए । राष्ट्रिय स्वाधीनतामाथि पनि खेलबाड भएको उनले उल्लेख गरे । ठूलो संघर्ष र बलिदानबाट बनेको संविधानको रक्षा गर्न आफूहरुको गठबन्धन अघि बढेको उनले बताए । गठबन्धन मुद्दामा आधारित भएको भन्दै उनले आफूहरुको कुनै स्वार्थ नभएको स्पष्ट पारेका छन् । आफूहरुको लडाइँ प्रधानमन्त्रीको निम्ति नभएको पनि उनले बताए ।

अध्यक्ष प्रचण्डले राष्ट्रपतिले गरेको क्रियाकलापलाई अदालतले सच्याउन सक्ने बताएका छन् । उनले राजा ज्ञानेन्द्रले बनाएको शाही आयोग खारेज गरेर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई राष्ट्रपतिको बारेमा अदालतमा बहस गर्न पाइँदैन भन्न नपाइने बताए ।

‘ज्ञानेन्द्रकै शासन हुँदा पनि शाही आयोग खारेज गरिदिएको होइन अदालतले ?,’ उनले भने, ‘राजाले बनाएको आयोग भङ्ग गरेर लोकतन्त्रलाई साथ दिने अदालतलाई अहिले राष्ट्रपतिको बारेमा त बोल्न पाइँदैन रे, हु हिज केपी ओली ?’ अध्यक्ष प्रचण्डले आफूले राष्ट्रपति फालेर राजा ल्याउने नभनेको स्पष्ट पार्दै विद्यादेवी भण्डारी राजाभन्दा बढी हुन खोजेको आरोप लगाए । उनले पत्रकारहरूलाई खराब प्रवृत्तिको विषयमा दृढ भएर काम गर्न पनि आग्रह गरे ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७