बाढी प्रभाव नियन्त्रणका लागि सहमति


१३ असार २०७८, आईतवार
badhi seti river

कास्की, १३ असार । वर्षेनी बर्षातको समयमा हुने बाढीसँगै नहरमा अव्यवस्थितरूपमा आउने पानीले पोखरा महानगरपालिका–३२ का विभिन्न स्थानका घरहरू डुबानमा पर्न थालेपछि सरोकारवालाबीच छलफल गरी बाढी प्रभाव नियन्त्रणका लागि सहमति गरिएको छ ।

बर्षातको पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न पोखरा–२६, २७, २९, ३० र ३२ का वडाध्यक्षसहित सरोकारवालाबीच पानीको निकासलाई व्यवस्थित गर्ने सहमति गरिएको हो ।

बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा–३२ का अध्यक्ष शिवजी लामिछानेका अनुसार विजयपुरदेखि आउने बगादी खोलाको पानी पोखरा–२६ डाँडाको नाकस्थित प्रहरी चौकीको दक्षिणतर्फ हुँदै सेती नदीमा कटाउने सहमति बनेको छ । त्यस्तै पोखरा–३० स्थित बाँधाको रह क्षेत्रबाट पनि पानी कटाउने गरी वडा कार्यालयसँग छलफल भइरहेको उनले जानकारी दिए ।

नहरमा आउने पानीलाई व्यवस्थित नगरिँदा यस क्षेत्रमा सिँचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा बर्षेनी समस्या बढिरहेको स्थानीयवासीको गुनासो छ । यस वर्ष केही दिनअघि मात्रै लगातारको वर्षासँगै नहरमा पानी बढेपछि यस क्षेत्रका टाँडी, कालिका चोकलगायत स्थानका घर डुबानमा परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७