निषेधाज्ञामा पत्रकारदेखि अस्पतालसम्मका नक्कली कार्ड, एक लाख सवारीसाधनले निषेधाज्ञा उल्लंघन गरे


१५ असार २०७८, मंगलवार
lock down

काठमाडौं, १५ असार । नक्कली पासको बिगबिगी बढ्न थालेपछि ट्राफिक प्रहरी नयाँ बसपार्क चोकमा चेकजाँचमा थियो । मोटरसाइकलमा एक युवा हुइँकिँदै आएर रोकिए । उनले फटाफट गोजीबाट मोबाइल झिके र उल्टै ट्राफिकको गतिविधि खिच्न थाले ।

त्यसपछि प्रहरीले सवारीचालकको अनुमतिपत्र मागे । उनले अनुमतिपत्रको सट्टा प्राइम टेलिभिजनको परिचयपत्र देखाए । परिचयपत्रमा ‘मनोज खत्री’ नाम उल्लेख थियो । कार्ड देखाएपछि युवा प्रहरीसँग झन् धेरै विवादमा उत्रिए ।

युवाको गतिविधिमा शंका लागेपछि प्रहरीले प्रेस पास नियन्त्रणमा लियो र टेलिभिजनको कार्यालयमा फोन गर्‍यो । सोधखोजपछि युवाले नक्कली प्रेस पास बनाएको खुल्यो । उनीसँग सवारीचालक अनुमतिपत्र पनि थिएन । उनलाई साँझसम्म नियन्त्रणमा राखेर प्रहरीले परिवारको जिम्मा लगायो । जावलाखेलमा आइतबार ट्राफिक प्रहरी नियमित चेकजाँचमा थिए । विपरीत दिशाबाट एक युवा चढेको मोटरसाइकल बत्तिँदै आयो । शंका लागेपछि प्रहरीले रोक्यो । उनले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको बिरामी कुरुवा कार्ड देखाए ।

प्रहरीले बिरामीबारे बुझ्न खोज्यो । उनले ‘अस्पतालमा आमाको क्यान्सर रोगको उपचार भइरहेको’ बताए । उपचारबारे थप जान्न खोज्दा युवाले भनाइ फेर्दै छिमेकी आमा बिरामी भएको जवाफ दिए । त्यसपछि प्रहरीले अस्पतालमा फोन ग¥यो । उनले बताएको नाम भएका बिरामी अस्पतालमा नभएको जानकारी आयो । अस्पतालमा कोही नभएको र ‘बिरामी कुरुवा पास’ नै नक्कली भएको खुल्यो । उनी बालकुमारीस्थित एक अटो शोरुमका कर्मचारी थिए । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी पछि छाड्यो ।

त्यस्तै, नियमित चेकजाँचकै क्रममा ट्राफिक प्रहरी कलंकी चोकमा थिए । बाटो काटिरहेको एउटा मोटरसाइकलमाथि शंका लागेपछि प्रहरीले रोक्यो । त्यसमा सवार युवाले झोक्किँदै नेपाल औषधि व्यवसायी संघ लेखिएको कार्ड देखाए । तर, उनले सवारीचालक अनुमतिपत्र भने प्रहरीलाई देखाएनन् । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लियो । युवाले प्रहरीलाई देखाउन नचाहेको सवारीचालक अनुमतिपत्र झिकेर दिए । त्यसमा उनले देखाएकोभन्दा फरक नाम थियो । त्यसबाट खुल्यो, उनले नेपाल औषधि व्यवसायी संघको नाममा नक्कली पास लिएका थिए ।

प्रहरीले चेकजाँच गरेर पत्ता लगाएका यस्ता सवारी पासको दुरुपयोग गर्नेहरूको संख्या एक सय आठ पुगेको छ । प्रहरीको तथ्यांकअनुसार दुरुपयोग हुनेमा अस्पतालको नाममा जारी भएका सवारी पास धेरै छन् । त्यसपछि सञ्चारमाध्यमका लागि दिइएका पास छन् ।

‘पछिल्लो लकडाउनमा सवारीसाधन चलाउने पास दुरुपयोग भएका धेरै घटना फेला परे । धेरैजसो अस्पतालका नाममा जारी भएका पास दुरुपयोग भएको पाइयो । केही सञ्चारमाध्यमका लागि जारी भएको पास पनि दुरुपयोग भएको भेटिए ।’

ट्राफिक प्रहरी महाशाखाका डिएसपी सुनीलजंग शाहले भने, ‘पास दुरुपयोग गर्ने धेरैथरीका मान्छेहरू छन् । केही जुवाडे पनि छन् । तर, अनुसन्धान गर्ने काम सम्बन्धित जिल्ला प्रहरीको हो । त्यस्ता घटना हामीले सबै उत्तै पठाएका छौँ ।’

लकडाउनमा एक लाख सवारीसाधन नियन्त्रणमा
उपत्यकाभित्र १६ वैशाखबाट दोस्रो चरणको निषेधाज्ञा सुरु भयो । महाशाखाले निषेधाज्ञा उल्लंघन गरेको भन्दै एक लाख आठ हजार चार सय ६ सवारीसाधनलाई नियन्त्रणमा लियो ।

जसमध्ये ७८ हजार ६ सय ४५ मोटरसाइकल, २५ हजार ६ सय ७१ चारपांग्रे सवारीसाधन र बाँकी ६ हजार ९० भने अन्य प्रकृतिका सवारीसाधन थिए । ती सबैलाई नियन्त्रणमा लिएको र कानुनी प्रक्रिया पूरा गरेर छाडेको महाशाखाले जानकारी दियो । नियन्त्रणमा लिइएकामध्ये दुई हजार आठ सय २८ सँग सवारीचालक अनुमतिपत्र थिएन । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७