संसद विघटनविरुद्धको मुद्दा : आज सरकार पक्षबाट नायब महान्यायाधिवक्ताको बहस


१५ असार २०७८, मंगलवार
sarbochha

काठमाडौं, १५ असार । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आज (मंगलबार) पनि सरकारको तर्फबाट बहस हुँदैछ । आज नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले बहस गर्ने सर्वोच्च अदालतले जानकारी दिएको छ ।

पाण्डेयका लागि दुई घण्टाको समय छुट्याइएको छ । हिजोदेखि शुरु भएको सरकार पक्षको बहसमा महान्यायाधिवक्ता रमेश बडालले सवा ३ घण्टा बहस गरेका थिए । बहसका क्रममा महान्यायाधिवक्ता बडालले संविधानको धारा ७६ को उपधारा ५ मा दलीय निर्देशन अर्थात ह्वीप लाग्ने दाबी गरेका छन् ।

यस्तै उनले स्वतन्त्र रुपमा निर्वाचित सांसद पनि सरकार बनाउने दाबी लिएर जान सक्ने तर त्यस्ता सांसदलाई विश्वासको मत दिन पनि दलको ह्वीप लाग्ने तर्क पेश गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका सांसदहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै उनले गणेश पहाडी र सरला यादवसहितका सांसदहरूको हस्ताक्षर कीर्ते गरिएको आरोप समेत लगाए ।

हस्ताक्षर दुरुपयोग गरिएका कारण लिखतसम्बन्धी कसुरमा कारबाही अगाडि बढाउन इजलासले आदेश गर्नुपर्ने बडालले माग गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले जुन प्रयोजनको लागि सही गरेको हो, त्यो दुरुपयोग भयो भन्ने अधिकार उहाँहरुकै होइन ? भनेर प्रश्न गरेका थिए ।

संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रशस्त गरेपछि जनता समाजवादी पार्टीले समर्थन गरेको हुनाले नै ओलीले फेरि उपधारा (५) मा दाबी गरेको बडालको भनाइ थियो । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी परेको थियो ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी अस्वीकार गरेकी थिइन् । त्यस लगत्तै प्रतिनिधि सभा विघटन भएपछि विपक्षी गठबन्धनले प्रतिनिधि सभा पुनः स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै १४६ सांसदसहित सर्वोच्च अदालत पुगेर रिट निवेदन दायर गरेका थिए ।

अहिले यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमार्फत बहस भइरहेको छ । शुरुवाती बहसका क्रममा रिट निवेदकतर्फका कानुन व्यवसायीहरुले १२ घण्टा बहस गरेपछि अहिले विपक्षी अर्थात सरकार पक्षको बहस शुरु भएको हो ।
सरकार पक्षले १५ घण्टा बहस गरेपछि रिट निवेदक पक्षका कानुन व्यवसायीहरुले फेरि ३ घण्टा जवाफी बहस गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७