गैंडाकोटमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध


१७ असार २०७८, बिहीबार
thumb

काठमाडौं, १७ असार । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडक विस्तारका लागि निर्माण गरिएका सात वटा डाइभर्सनमध्ये बाढीले चार वटा बगाएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गएरातिदेखि नै अविरल वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाएपछि आज बिहानदेखि नै राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि सयौं गाडी गैंडाकोट र रजहरमा रोकिएका छन् । सडक भत्किएकै स्थानमा जाम नहोस् भनेर दुवैतर्फका गाडी त्यहीँ रोकिएको प्रहरीले जनाएको छ ।

अहिले पनि पानी परिरहेका कारण डाइभर्सन पुनः निर्माण गरेर सडक सञ्चालन गर्न कठिन भएको उनको भनाइ छ । सडकदेखि उत्तरतर्फको भाग समेत बाढीले डुबाएपछि त्यहाँको पानीको सतह नघटेसम्म डाइभर्सन बनाउन कठिन हुने प्रहरीको अनुमान छ । राजमार्ग फराकिलो पार्ने क्रममा गैंडाकोट र भेडाबारीबीचको जङ्गलमा पुराना पुल भत्काएर चार वटा डाइभर्सन बनाइएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७