मुग्लिन, बीपी, भट्टेडाँडा, डुम्रे–वेशीशहर, पृथ्वी लोकमार्गमा पहिरो, राजमार्ग अवरुद्ध


१८ असार २०७८, शुक्रबार
mugling

काठमाडौं, १८ असार । सिन्धुलीको सुनकोशी गाउँपालिका–१, कमेरेफाँट नजिक तीन–चार ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग अवरुद्ध भएको छ । सवारीसाधनको आवागमन प्रभावित भएको हो । काठमाडौंबाट खुर्कोटतर्फ जाने–आउने सवारीसाधन पहिरोको कारण रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।
पृथ्वी लोकमार्ग अवरुद्ध
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१०, तिङगाङखानीमा सडक अवरुद्ध भएको छ । पहिरो तथा वर्षाका कारण खसेको लेदो माटोले पृथ्वी लोकमार्ग अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

ललितपुरको भट्टेडाँडामा पहिरो, सवारीसाधन रोकिए
ललितपुरको भट्टेडाँडामा पहिरो खसेको छ । पहिरोले चापागाउँ–भट्टेडाँडा भएर चल्ने सवारीसाधन रोकिएको प्रहरीले जनाएको छ ।
यस्तै ललितपुरकै वाग्मती गाउँपालिका र मकवानपुरको गढीमा खसेको पहिरोका कारण काठमाडौंबाट मकवानपुरतर्फ जाने–आउने सवारीसाधनको आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध
नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ । पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ । बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

डुम्रे–वेशीशहर सडक खण्ड अवरुद्ध

दमौली–पहिरोका कारण तनहुँको डुम्रे–बेंसीशहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो । तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा आएको पहिराका कारण उक्त सडकखण्ड बिहीबारदेखि अवरुद्ध छ । बिहीबार दिउँसो पहिरो हटाएर सडक सञ्चालनमा आए पनि पुनः पहिरो खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

‘हिजो दिउँसो पहिरो हटाएर सडक सञ्चालन गराइए पनि फेरि अवरोध भएको छ’, उनले भने, ‘ठूलो पहिरो खसेकाले हटाउन चारपाँच घण्टाभन्दा बढी समय लाग्ने देखिन्छ ।’

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा पनि बिहीबार ठूलो पहिरो खसेको थियो । उक्त ठाउँमा पहिरो हटाएर बिहीबारदेखि नै सडक एकतर्फी सञ्चालनमा आएको छ । ‘बीचमा ठूलो ढुङ्गा रहेकाले दुईतर्फी सञ्चालन हुनसकेको छैन’, प्रनाउ तिमिल्सिनाले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७