माधव नेपाल पक्षको निष्कर्ष : ‘अवैध’ कमिटीको अर्थ छैन, हस्ताक्षर फिर्ता हुँदैन

‘त्यस्ता निर्देशन कति आए–आए, सरोकार नै भएन’


१९ असार २०७८, शनिबार
Madhavkumar Nepal Senior Leader of Uml scaled

काठमाडौं, १९ असार । बालुवाटारमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक चलिरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले भने आफू पक्षका सांसदहरुसँग छलफल गरेका छन् ।

एमाले केन्द्रीय कमिटीको ‘अल्टिमेटम’ पछि शनिबार काठमाडौंको एक कलेजमा उनीहरुबीच छलफल भएको हो । नेकपा एमालेको नेपाल पक्षका सांसदहरूले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम मान्य नभएको निष्कर्ष निकालेको छ ।

खनाल–नेपाल पक्षका २३ सांसदहरूले सर्वोच्च अदालतमा देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर भएको मुद्दामा हस्ताक्षर गरेका थिए । त्यसरी गरिएको हस्ताक्षर सोमबारभित्र फिर्ता लिएको घोषणा गर्न अध्यक्ष ओलीले शुक्रबार अल्टिमेटम दिएका थिए ।

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि सोमबारेमा छलफल गरिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिइन् । ओलीले सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन आउँदो सोमबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।
‘त्यस्ता निर्देशन त कति आए आए । कति कारबाही गर्ने, फुकुवा गर्ने, खारेज गर्ने, बदर गर्ने गरिरहनु भएको छ । त्यसँग हामीलाई कुनै सरोकार नै भएन’, एक सांसदले भने, ‘हामी पूर्ववत् निर्णयबाट दायाँ–बायाँ भएका छैनौं ।’

सर्वोच्च अदालतको फैसला आएपछि राजनीतिले नयाँ कोर्ष लिने र त्यसमा आफूहरु निर्णायक भएर अगाडि बढ्ने ती सांसदको भनाइ थियो ।
उक्त छलफलमा ओलीले जारी गरेको अल्टिमेटम अस्वीकार गर्दै हस्ताक्षर कुनै हालतमा फिर्ता नलिने निष्कर्ष निस्किएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए । ‘अवैधानिक कमिटीले दिएको अल्टिमेटमको अर्थ छैन । संविधान, लोकतन्त्र र संसद् जीवित राख्नका लागि गरिएको हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निस्किएको छ,’ उनले भने ।

सर्वोच्च अदालतले २०७७ फागुन २३ गते गरेको फैसलाअनुसारको बैठक बसेर गरिएको निर्णय मात्रै मान्य हुने समझदारी बनेको श्रेष्ठले जानकारी दिए । बैठबमा माधवकुमार नेपालले शुक्रबार अध्यक्ष ओलीसँग भएको छलफलबारे जानकारी गराएका थिए । ‘मेलमिलापको लागि भनेर अध्यक्ष ओलीले फोन गर्नुभयो । शुरुमै उहाँले आफ्ना शर्त राख्नु भयो भनेर नेता नेपालले सुनाउनु भयो,’ श्रेष्ठले भने ।

एकता गर्ने भए बालुवाटारमा जारी १३ केन्द्रीय कमिटी बैठक रोक्न र ९ औं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक बोलाउने लगायतका सहमति गरौं भनेर ओलीलाई जवाफ दिएको नेपालले सांसदहरूलाई बताएका थिए । ओलीले भने केन्द्रीय कमिटी बैठक जारी राखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७