पहिलो खेप खोप लिन निगमको जहाज चीन जाँदै


२४ असार २०७८, बिहीबार
Nepal Airlines plane
फाइल फोटो

काठमाडौं, २४ असार । कोरोना भाइरस संक्रमणविरुद्धको चिनियाँ खोप लिन आज (बिहीबार) नेपाल वायुसेवा निगमको बाइडबडी ए–३३० जहाज चीन जाने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘भेरोसेल’ खोप लिन आज साँझ जहाज चीन जाने भएको हो । साउन ८ गतेसम्म तीन पटक गरेर जहाजले खोप नेपाल ल्याउने छ । जसअनुसार दोस्रो उडान यही असार ३१ गते र तेस्रो उडान आगामी साउन ७ गते हुनेछन् ।

चीनस्थित सिनोफार्म कम्पनीले बनाएको भेरोसेल खोप खरिद गरेको सरकारले सरकार–सरकार (जीटुजी) मार्फत खोप ल्याउन लागेको हो । अब ल्याइने भेरोसेल खोप लगाउँदा ६० वर्षमुनिका नागरिकलाई प्रथामिकता दिइने मन्त्रालयले जानकारी दिएको छ । यस्तै कोभ्याक्स सुविधामार्फत आउने खोप पनि छिट्टै खोप ल्याउने मन्त्रालयले जनाएको छ ।

यसअघि कोभ्याक्समार्फत तीन लाख ४८ हजार मात्र खोप आएको थियो । नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार खोप आएको छ । नेपालमा १८ वर्षभन्दा माथिका कुल दुई करोड २० लाख जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिइएको छ । अहिलेसम्म आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८०७ जनालाई पहिलो मात्राको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७