पाकिस्तान पिपल्स पार्टीका नेताको गोली हानी हत्या


२५ असार २०७८, शुक्रबार
dkfmkdgm1625792730

काठमाडौं, २५ असार । पाकिस्तान पिपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मिन खानलाई बुधबार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् ।

पाकिस्तानी पत्रिका डनका अनुसार पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानको एटोकको शीन बाग क्षेत्रमा अन्त्येष्टिमा भाग लिइरहेको बेला अज्ञात आक्रमणकारीहरूले चलाएको गोली लागी मृत्यु भएको हो ।

आक्रमणपछि उनलाई जिल्ला सदरमुकामस्थित एक अस्पतालमा लगिएको थियो । तर, पछि थप उपचारका लागि उनलाई एम्बुलेन्समा रावलपिंडी लग्ने क्रममा बाटोमा मृत्यु भएको हो । ‘हामी डीएचक्यू अस्पताल रावलपिंडी नजिकै पुगेका थियौं । तर, अस्पतालमा पुग्नुअघि उहाँको देहावसान भयो’, पाकिस्तानी सञ्चारमाध्यमले जिल्ला आपतकालीन अधिकारी इशफाक मियांलाई उद्धृत गरी लेखेको छ ।

प्रान्तीय विधानसभाका पूर्व उमेदवार र हक्मिन खानका निकटस्थ मलिक हमीद अकबर खानले मृतक नेताको टाउकोमा गोली हानिएको थियो । घाउबाट धेरै रगत बगेपछि उनको मृत्यु भएको खानले बताए । पीपीपी नेता खान सन् २००८ मा पीपी–१५ एटोकबाट निर्वाचित भएका थिए । उनी आफ्नो कार्यकालमा खानी र खनिजसम्बन्धी विशेषाधिकार समिति र स्थायी समितिको सदस्य भएका थिए ।

पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले ट्विट गरेर उनको मृत्युमा शोक व्यक्त गर्दै भनेका छन्, ‘शहान हक्मिनको हत्याको खबर सुन्दा म धेरै दुःखी छु र शोकमग्न भएको छु । आफ्नो स्वर्गीय बुवा मलिक हक्मिन जस्ता आस्तिक पीपीपी नेताको हत्यारालाई सजाय दिनुपर्छ र मृतकका आफन्तजनलाई न्याय हुनुपर्छ ।’

खानका श्रीमती र दुई छोरा छन् । उनको पार्थिव घर पुग्ने बित्तिकै ठूलो संख्यामा समर्थक, प्रशंसक, पार्टी कार्यकर्ता र नेताहरू मृतकको परिवारसँग सहानुभूति प्रकट गर्न घरसम्म पुगेका थिए ।

प्रहरी स्रोतका अनुसार उनलाई सम्पत्तिसम्बन्धी विवादमा १९ वर्षीय व्यक्तिले गोली हानी हत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्रोतका अनुसार हत्यामा संलग्न रहेको आरोपमा संदिग्धलाई पक्राउ गरी अनुसन्धानको लागि सुरक्षा नियन्त्रणमा राखिएको छ । रासस / एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७