उपत्यकामा एक घण्टामै ५० मिलिमिटर बर्षा : सडक जलमग्न, उर्लिए खोला, घरभित्र भल पस्यो


२६ असार २०७८, शनिबार
ghattehulo area ZANOVuF5YR

काठमाडौं, २६ असार । काठमाडौं उपत्यकामा शनिबार दिउँसो भारी बर्षा भएको छ । काठमाडौंमा दिउँसो ४ बजेपछि एक घण्टामै ५० मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिएका छन् ।

ठूलो पानीसँगै काठमाडौंका विभिन्न खोलामा बाढी आएको छ । भारी वर्षाका कारण बागमती, धोवीखोला, रुद्रमतीमा बाढी आएको छ । रुद्रमतीको बाढीले अनामनगर क्षेत्रको सडक जलमग्न हुनाका साथ सडक छेउछाउका घरमा समेत पानी पसेको छ । यस्तै काठमाडौंको घट्टेकुलो क्षेत्र पनि डुबानमा परेको छ । कोटेश्वरको तीनकुनेमा सडकमा पानी जम्दा यातायातलाई समस्या भएको छ । यस्तै बानेश्वरका घरहरुमा भल पसेको छ ।

jalamagna 7 D67LavjJgB

वागमती, मनोहरा, हनुमन्ते, गोदावरीलगायतका नदीमा पनि पानीको बहाव बढेको छ । कतिपय ठाउँको सडकमा पनि पानी जमेर आवतजावतमा समस्या भएको छ । बिजुलीबजार क्षेत्रमा पनि ठूलो पानीसँगै केहीबेर सडक जलमग्न भएको थियो । यात्रीलाई गन्तव्यमा पुग्न सकस भयो । काठमाडौंमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिएका छन् ।

अहिले प्रदेश–१, प्रदेश–२, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्ययम र केही ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले धेरै ठाउँमा पानी परिरहेको हो । सोमवारसम्म नै मनसुन सक्रिय भइरहने भएकाले देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७