एमाले एकता : ओली पक्ष सिंहदरबारमा, माधव समूह कोटेश्वरमा आन्तरिक छलफलमा


२७ असार २०७८, आईतवार
CPNUML working Team

काठमाडौं, २७ असार । एमाले एकताका लागि जारी वार्ता आज (आइतबार) टुङ्गोमा पुग्ने नेताहरूले दावी गरेका छन् । यसका लागि छलफल गर्न अहिले कार्यदलका सदस्य सिंहदरबार पुगिसकिएको एमाले नेता सुवास नेम्वाङले जानकारी दिएका छन् । ‘अहिले हामी बैठकका लागि सिंहदरबार पुगिसकेका छौं, अर्को समूहका साथीहरूलाई पर्खिरहेका छौं, हिजो घोषणा गरेझैं सुखद खबर सुनाउन आतुर छौं,’ आइतबार नेता नेम्वाङले भने ।

सहमति भए आजै स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने नेताहरूले बताएका छन् । यता एमालेको आन्तरिक एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले सहमतिको मस्यौदामा हस्ताक्षर गर्ने समय विहान ८ बजे भने पनि माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटेपछि ढिला भएको छ ।

स्रोतका अनुसार माधव पक्षधर वार्ता टोली सदस्यहरु नेपाल निवास कोटेश्वरमा छन् । बरिष्ठ नेता नेपाल सर्वोच्चको फैसलाअघि कुनै सम्झौताको पक्षमा छैनन् । संस्थापन पक्षका भने पाँचै जना नेताहरु अर्थ मन्त्रालयमा छन् । माधव पक्षका नेताहरु पुगेपछि सहमतिमा हस्ताक्षर हुने भनिएको छ ।

यता सहमति लगत्तै बैठक बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गर्न महासचिव ईश्वर पोखरेल प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । एमालेको विधानमा अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउने व्यवस्था छ । कार्यदलले सहमतिमा हस्ताक्षर गरेपछि बैठक बस्ने महासचिव ईश्वर पोखरेलले बताए । कार्यदलको बैठक विहान ८ बजे राखिए पनि माधव नेपाल पक्षका कार्यदल सदस्यहरु अहिलेसम्म सिंहदरवारमा पुगेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७