निषेधाज्ञामा सौराहा : जङ्गल सफारी लजले गर्‍यो ३ सय कोठा बुकिङ


२ श्रावण २०७८, शनिबार
souraha

चितवन, २ साउन । कोरोना सङ्क्रमणका कारण ठप्प रहेको सौराहाको जङ्गल सफारी लजले असार महिनामा ‘पे नाउ गो लेटर अफर’ मा ३०० कोठा बुकिङ गरेको छ । सबै होटल बन्द भइरहँदा यो होटलले नयाँ अफरमार्फत आर्थिक वर्षको मसान्तमा बैंकिङ किस्ता र ब्याजलगायतका खर्च गर्न सहज बनाएको हो ।

होटलका कार्यकारी निर्देशक सुमन घिमिरेका अनुसार असार १ देखि ३१ गतेसम्म सामाजिक सञ्जालमार्फत अफर आह्वान गरिएको थियो । आन्तरिक पर्यटक प्रवद्र्धनका लागि गरिएको यो अफरमा स्वदेशी र विदेशमा रहेका नेपालीले बुकिङ गरेका छन् । बढी संख्यामा वीरगन्जदेखि बुटवलसम्मका पर्यटक छन् । पोखरा र काठमाडौंका पर्यटकको सङ्ख्या पनि ठूलो रहेको उनले जानकारी दिए । स्थानीयसँगै ठाउँठाउँबाट पत्रकार, लेखक, साहित्यकार, व्यवसायी, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना लगायतले सो अफरमार्फत कोठा बुक गरेका हुन् ।

यस योजनाअन्तर्गत पर्यटकले तीन रातका लागि कोठाको मूल्य मात्र रु चार हजार तिरे पुग्नेछ । अन्य समयमा ती कोठाको मूल्य रु १० हजार ५०० हुने गर्दछ । यसको साथै स्वीमिङ पुलको सुविधा पाइनेछ । यस योजनाअन्तर्गत होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ । कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउने छन् ।

सो योजनामा कोठा बुक गरेकाले आगामी चैत २८ गतेसम्म प्रयोग गर्नुपर्ने घिमिरेले जानकारी दिए । उत्साहजनक ढङ्गबाट कोठा बुकिङ भएको जनाउँदै उनले यसले आफूलाई हौसला मिलेको बताए । उनले भने, ‘यो योजनालाई देशका प्रमुख पर्यटकीय ठाउँका होटलमा संयुक्तरुपमा लैजानुपर्छ भन्ने सोचको विकास भएको छ ।’ यसले खाली हुने कोठा बुकिङ हुने र अग्रिम भुक्तानी हुँदा सञ्चालनमा सहयोग पुग्ने उनको भनाइ छ ।

कोभिडका कारण पर्यटन क्षेत्र प्रभावित भएको छ । यस अभियानले केही हदसम्म सहयोग पुर्याउने घिमिरे बताउँछन् । असारभित्र भौचर लिने ग्राहकमध्ये एक जनाले काठमाडौँ–भरतपुर–काठमाडौं हवाई टिकट, विमानस्थलबाट होटलसम्म गाडीको व्यवस्था र तीन रातसम्म पेय पदार्थ पुरस्कारस्वरुप पाउने छन् । यसरी बुकिङ गरेका धेरैले खाना होटलमा नै खाने अपेक्षा गरिएको छ । कोभिड सँगै गत वैशाख १५ गतेदेखि बन्द भएका सौराहाका होटल असार २४ गतेदेखि आंशिक खुलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७