प्रचण्ड सात महिनापछि बालुवाटारमा


५ श्रावण २०७८, मंगलवार
Prachanda

काठमाडौं, ५ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्न बालुवाटार पुगेका छन् ।

उनी नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न मंगलबार बालुवाटार गएका हुन् । यसअघि उनी गत पुस ५ गते अन्तिम पटक बालुवाटार गएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग भेटवार्ता भएकै दिन प्रतिनिधि सभा विघटन गरेपछि उनी बालुवाटार गएका थिएनन् । तत्कालीन प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधि सभा विघटन गर्दा बालुवाटारमा तत्कालीन नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो ।

उक्त बैठकमा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेर बाहिरिएपछि प्रचण्ड फेरि बालुवाटार गएका थिएनन् । मंगलबार प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच मन्त्रिमण्डल विस्तारका बारेमा छलफल भएको छ ।

यस्तै आज बिहान नै नेकपा (एमाले) का नेता माधवकुमार नेपालसँग भेट गरी प्रचण्ड बालुवाटार गएका हुन् । प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार प्रचण्डले आधा घण्टाभन्दा बढी नेपालसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत पाएसँगै सरकारमा विभिन्न दलको सहभागिता, मन्त्रालय बाँडफाँडलगायत विषय चर्चामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७