देशकै पुरानो चन्द्रनहर भत्कियो, करिब तीन सय घर डुबानमा


५ श्रावण २०७८, मंगलवार
37cb9cd54d085d8512e88c8923d935541503220072 1

सप्तरी, ५ साउन । अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ । अमहा र टेंगालसहितका खोलामा आएको बाढीले सप्तकोसी नगरपालिका–४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्‍याएको छ ।

नगर प्रमुख उत्तम गौतमले सो क्षेत्रमा ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए । उनका अनुसार नहर भत्किएपछि सप्तकोसी–१, २, ४ र ११ वडाका करिब ३०० घर समेत डुबानमा परेका छन् । ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ ।

यस्तै, जिता नदीको बाढीले तिलाठी कोइलाडी गाउँपालिका–७, मन्सापुर र वडा नम्बर–५, बरसाइनका केही घर डुबानमा परेका छन् । तिलाठी कोइलाडी–७ को मन्सापुर र वडा नम्बर–५ को बरसाइनका करिब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए ।

चन्द्रनहरमा क्षमताभन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४, मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७