ओली ‘अडिए’, माधव नेपालले बोलाए सांसद र केन्द्रीय सदस्यहरुको वैठक


५ श्रावण २०७८, मंगलवार
kp oli madhav nepal
फाइल फोटो

काठमाडौं, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमाले सांसदहरु २४ घण्टाभित्र स्पष्टीकरण माग गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (मंगलबार) कुनै कदम नउठाएपछि माधवकुमार नेपाल पक्षले सांसद र केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

वरिष्ठ नेता नेपालले देउवालाई विश्वासको मत दिने आफू पक्षका र ओलीसँग असन्तुष्ट सांसद र केन्द्रीय सदस्यहरुको वैठक भोलि बस्ने गरी बोलाएका हुन् । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि विश्वासको मत दिएपछि विकसित घटनाक्रमलाई लिएर नेपाल पक्षले सांसद र केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएको हो । बैठकमा देउवालाई विश्वासको मत दिएका ओली पक्षीय ८ सांसदलाई पनि बोलाइएको छ ।

देउवालाई ओली पक्षीय ८, माधव पक्षीय १४ जनाले विश्वासको मत दिएका थिए । त्यस्तै माधव पक्षीय १० जना सांसदहरु तटस्थ बसेका थिए । एमाले केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी रहेका बेला नेपाल पक्षले पनि सांसद र केन्द्रीय सदस्यहरुको बैठक बोलाएको हो ।
उक्त बैठकले विश्वासको मत दिएपछि देउवा सरकारमा जाने–नजाने पनि निर्णय लिने भएको छ । देउवालाई विश्वासको मत दिएपछि नेता नेपालसहित २२ सांसदलाई कारबाही तयारी एमालेले गरेको थियो । तर कारबाही गर्ने निर्णय गरेको एमालेले मंगलबार स्पष्टीकरण पत्र पनि पठाएको छैन ।

एमाले बैठक : २४ घण्टा पुरा नभएको भन्दै माधव समूहमाथि भएन कारबाही
नेकपा एमालेको केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरूलाई कारबाहीबारे मंगलबार कुनै पनि निर्णय गरेन । सोमबार बैठकको पहिलो दिन वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नगरिएको जानकारी दिएका छन् । नेपाल पक्षका सांसदहरूले पार्टीले सोधेको स्पष्टीकरणको पत्र नै नपाएको बताइरहँदा प्रवक्ता ज्ञवालीले सांसदहरूले पत्र हात पारेपछि मात्र २४ घण्टाको अल्टिमेटम शुरु हुने जानकारी दिए ।

आजको बैठक सातै वटा प्रदेशका पार्टी अध्यक्षहरूले ब्रिफिङ गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । सातै प्रदेशका अध्यक्षहरूले आफ्नो प्रदेशमा एमालेको सङ्गठनात्मक अवस्था तथा राजनीतिक सन्तुलनको बारे बैठकमा ब्रिफिङ गरेका थिए । पार्टीबाट केही समूह बाहिरिँदा के असर पर्छ, आसन्न निर्वाचनमा पार्टीको अवस्था कस्तो रहन्छ भन्ने ब्रिफिङका साथै अब कसरी अगाडि जाने सुझाव पनि प्रदेश अध्यक्षहरूले दिएको प्रवक्ता ज्ञवालीले बताए ।

उनका अनुसार पार्टीभित्र देखिएको विवाद छिटो समाप्त गरेर गतिशीलरुपमा अघि बढ्नुपर्ने प्रदेश अध्यक्षहरूको सुझाव रहेको थियो । प्रदेश अध्यक्षहरूले पार्टीको प्रशिक्षण अघि बढाउनुपर्ने, सरकारमा रहँदा पार्टीले गरेका काम र अहिलेको अवस्थाबारे पार्टीपंत्तिलाई जानकारी दिनुपर्ने र आफूबारे कमी कमजोरीहरू भए त्यसको समीक्षा पनि गरिनुपर्ने सुझाव दिएका थिए । आज बैठकमा उठेका प्रश्नहरूको बारेमा भोलि महासचिवले जवाफ दिने पनि ज्ञवालीले जानकारी दिए ।

त्यस्तै, आजको बैठकमा पार्टीमा उत्पन्न समस्या समाधानका निम्ति गठन गरिएको कार्यदलको तर्फबाट संयोजक सुवास नेम्वाङले पार्टी एकताका लागि भएका विभिन्न चरणहरूमा भएका प्रयासहरूको बारेमा बैठकलाई ब्रिफिङ गरेका थिए । पार्टीको केन्द्रीय समितिले कार्यदलले तयार गरेको १० बुँदे प्रस्तावलाई अनुमोदन गरी सकेको छ भने कार्यदल विघटन गरिसकेको छ । बैठकमा १० बुँदे प्रस्तावलाई सिर्जनात्मक ढङ्गले अगाडि बढाउने विषयमा छलफल भएको ज्ञवालीको भनाइ छ । आजको बैठक भोलि ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७