स्वास्थ्यको निर्देशन : प्रत्येक प्रदेशले एक हजार अक्सिजन सिलिण्डर भरेर राख्नू


प्रकाशित मिति : July 26, 2021

काठमाडौं, ११ साउन । सरकारले प्रत्येक प्रदेशमा कम्तीमा एक हजार अक्सिजन सिलिण्डर भरेर राख्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै प्रत्येक प्रदेशलाई कम्तीमा हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो ।

मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विगतका दिनहरुमा जस्तै कोरोना संक्रमणको दर तीब्र रुपमा बढ्न गई अर्को लहर आउन सक्ने सम्भावना रहेको भन्दै उक्त सम्भावित चुनौतीको सामना गर्नका लागि प्रदेश आपूर्ति केन्द्रहरुलाई अक्सिजन सिलिण्डर भरेर राख्न निर्देशन दिएको हो । ‘मौजुदा सिलिण्डरहरु पनि खाली नराख्न र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेसनहरु चालु र चुस्त अवस्थामा राख्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

‘जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका वावजुद कोभिड–१९ को संक्रमण दरमा कमी आएको देखिँदैन । विगतका दिनमा जस्तै संक्रमणको दर तिव्र रुपमा वढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन । अतः भविस्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ’, स्वास्थ्य मन्त्रालयले भनेको छ, ‘मौजुदा सिलिण्डरहरु पनि खाली नराख्नु हुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्जिन कन्सन्ट्रेटरहरु चालु र चुस्त अवस्थामा राख्नु हुन जानकारी गराइन्छ ।’

प्रतिक्रिया दिनुहोस्