गरीब नागरिकलाई निःशुल्क विजुली दिने प्रयासमा छु : ऊर्जामन्त्री भुसाल


११ श्रावण २०७८, सोमबार

काठमाडौं, ११ साउन । उर्जा, जलस्रोत र सिञ्चाईमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनी रहेका जनतालाई विद्युतमा विशेष सहुलियत दिने योजनामा आफू रहेको बताएकी छिन् । आज (सोमबार) मन्त्रालयमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै मन्त्री भुसालले गरिबीको रेखामुनी रहेका निश्चित समुदायलाई निःशुल्क विद्युत दिने उल्लेख गरिन् ।

मन्त्री भुसालले भनिन्, ‘एउटा आधारभूत तहबाट तल रहनेहरूलाई निःशुल्क विद्युत दिनुपर्छ । म सामान्य एउटा गृहकार्य गरिरहेको छु । पछि यसबारेमा मैले जानकारी गराउने छु । त्यो तहका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ । एकातिर विद्युत उत्पादन भएको छ भन्छौं हामीहरू, फेरि हाम्रोमा बिद्युतको दर महङ्गो छ । मैले जानेको अर्थशास्त्र जति मात्रामा उत्पादन बृद्धि हुन्छ लागत मात्रा कम हुन्छ । उपभोक्ताको रुपमा मैले प्रयोग गर्दा र प्रतिनिधि सभाको अघिल्लो बैठकमा मैले बजेटमाथि टिप्पणी गर्दा पनि बोलेको थिएँ । उत्पादन बढेपछि सस्तो हुनुपर्ने हो तर हाम्रोमा त उत्पादन बढेपछि मूल्य पनि बढ्ने डर छ ।’

उनले एकातिर बिद्युत उत्पादन भएर खेर जाँदैछ भन्ने र अर्कोतिर जनतालाई सहुलियत दिन नसक्ने स्थितिको पनि समाधान गर्ने उल्लेख गरिन् । उनले विद्युतको दरमाथि पुनर्विचार गरेर अलि सस्तो बनाउने पक्षमा आफू रहेको र त्यसका लागि आफूले अध्ययन गरिरहेको समेत बताइन् ।

मन्त्री भुसालले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गर्ने बताइन् । जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुशासनलाई आफूले पहिलो प्राथमिकतामा राख्ने उनको भनाई थियो । उनले सुशासन कायम गर्ने सन्र्दभमा कुनै सम्झौता नहुने, सुशासन कायम नभए आफ्नो लागि सह्य नहुने पनि उल्लेख गरेकी छन् ।

उनले विद्युत आयात निर्यात गर्ने कुरासँग आफू सहमत भएको बताउँदै रणनीतिक हिसाबले नेपालमा उत्पादन भएको बिद्युत नेपालमै खपत गर्नुपर्ने कुरामा जोड दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७