मध्यपहाडी लोकमार्गमा भ्रष्टाचार : योजना प्रमुख र ठेकेदारसहित पाँच जनाविरुद्ध मुद्दा


१२ श्रावण २०७८, मंगलवार

काठमाडौं, १२ साउन । मध्यपहाडी (पुष्पलाल) लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयोजना प्रमुख र ठेकेदारसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारले जनाएको छ ।

एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि सोही चेनेजमा सोही प्रकृतिको आइटमको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने / दिने काम गरी ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दावी छ ।

अख्तियारले योजना प्रमुख विजय चापागाईं, तत्कालीन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्र प्रसाद राउत, ठेकेदार महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक रवि सिंहसँग ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरेको छ । त्यस्तै तत्कालीन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो माग गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७