गठबन्धनको बैठकमा माधव नेपाल पक्षका विजय पौडेलले भने, ‘हामी सरकारमा सहभागी हुँदैनौं’

मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई


१३ श्रावण २०७८, बुधबार
Satta gadabandan baithak Baluwatar

काठमाडौं, १३ साउन । मन्त्रिमण्डल विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी माधवकुमार नेपाल पक्षका एमाले नेता विजय पौडैलले आफूहरु सरकारमा सहभागी नहुने जानकारी गराएका छन् ।

पौडेल वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट बैठकमा सहभागी भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई पनि सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला पौडेलले आफूहरू सरकारमा सहभागी नहुने जानकारी गराएका हुन् ।

यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटमा वरिष्ठ नेता नेपालले आफूहरू सरकारमा सहभागी हुने बताएका थिए । प्रचण्डले नेपाल समूह पनि सरकारमा सहभागी हुने र बुधबार मन्त्रीमण्डल विस्तार हुन सक्ने बताएका थिए । त्यसैको छलफल गर्न गठबन्धन बैठक बोलाइएको हो ।

बैठकमा सरकार विस्तारबारे सामान्य कुराकानी भएको र आफूले सरकारमा सहभागी नहुने कुरा स्पष्ट रुपमा भनेको बताए । ‘संविधान जोगाउन हामीले प्रधानमन्त्रीलाई साथ दिएका हौं’, बैठकपछि नेता पौडेलले भने, ‘तर पार्टीमा एकताको छलफल चलिरहेका बेला हामी सरकारमा सहभागी हुन मिल्दैन, तपाईंहरूले मन्त्रिमण्डल छिटो विस्तार गर्नुस् भनें ।’ पौडेलले आफूले आफ्नो समूहको तर्फबाट गठबन्धन बैठकमा उक्त धारणा राखेको जानकारी दिए ।

मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ । एमालेको माधव नेपाल पक्ष समेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो । बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशन समेत दिएको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन् । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७