क्रियाशील सदस्यता विवाद हल गर्न जुटे देउवा, पौडेल र सिटौला


१५ श्रावण २०७८, शुक्रबार
Congress Sher bahadur deuwa ramchandra paudel and Krishna prasad sitaula

काठमाडौं, १४ साउन । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानको उपाय खोज्न जिम्मा पाएका शीर्ष तीन नेताहरुको संयुक्त बैठक आज (शुक्रबार) बस्दै छ ।

विवाद समाधानको जिम्मा पाएका पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे बुढानीलकण्ठमा बस्न लागेको देउवाको सचिवालयले जनाएको छ ।

यी शीर्ष तीन नेतामाथि पाँच दिनको समयभित्र टुंगो लगाउनुपर्ने मुख्य तीन जिम्मेवारी छ । पहिलो जिम्मेवारी बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यताबारे निर्णय गर्ने हो । यी जिल्लाबाट ढिलो गरी विवरण आएको भन्दै क्रियाशील सदस्यता छानविन समितिले फाइल नै खोलेको छैन ।

दोस्रो जिम्मेवारी धनुषा–४ र सर्लाही–२ मा नयाँ क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्ने हो । त्यहाँका कांग्रेस नेताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बस्दै आएका छन् । तेस्रो जिम्मेवारी भनेको समायोजनबाट आएका क्रियाशील सदस्यताबारे निर्णय गर्ने हो ।

राप्रपा छाडेर कांग्रेस प्रवेश गरेका सुनील थापा लगायतको टिमलाई दिने क्रियाशील सदस्यतामा विवाद हुँदा सदस्यता वितरण हुन सकेको छैन । क्रियाशील सदस्यता विवादका कारण आगामी भदौ १६ गतेदेखि हुने भनिएको कांग्रेसको १४ औं महाधिवेशन सो मितिमा नहुने पक्का भइसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७