प्रचण्डको ‘ब्रिफिङ’ : माधव पक्ष सरकारमा आउने सम्भावना टर्‍यो, अब मन्त्रिमण्डललाई पूर्णता


१७ श्रावण २०७८, आईतवार
mao

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष तत्काल सरकारमा सहभागी हुने सम्भावना टरेको बताएका छन् ।

आज (आइतबार) को स्थायी कमिटी बैठकमा प्रचण्डले एमाले एकताकोे कुरा चलिरहेकाले नेपाल पक्ष तत्काल सरकारमा आउने सम्भावना नरहेको ‘बिफ्रिङ’ गरेको एक सदस्यले जानकारी दिएका छन् । ‘माधवजीको सबै कुरा सुन्दा सरकारमा जाने सम्भावना छैन । उहाँको आजको बैठकले निर्णय गर्ला’, प्रचण्डको भनाई उद्गृघ गर्दै ती सदस्यले भने । अघिल्लो स्थायी कमिटी बैठकमा भने प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने ब्रिफिङ गरेका थिए ।

‘उहाँहरू (माधवजी) लाई अहिले नै सरकारमा सहभागी हुन समस्या छ, व्यक्तिगत रूपमा आउने कुरा बेग्लै भयो’, प्रचण्डले बैठकमा गरेको ब्रिफिङ उद्धृत गर्दै एक स्थायी समिति सदस्यले भने, ‘अब तत्काल उहाँहरू नआउने भएपछि मन्त्रिमण्डललाई पूर्णता दिएर अघि बढ्नुको विकल्प छैन ।’

आइतबारको बैठकअघि अध्यक्ष प्रचण्डले नेता नेपालसँग सरकारमा सहभागी हुने नहुनेबारे नेता नेपाललाई भेटेर छलफल गरेका थिए । अध्यक्ष प्रचण्डले बैठकमा आफूले माधव नेपाललाई सरकारमा सहभागी हुन गरेको आग्रहका सन्दर्भमा नेता नेपालले पनि संस्थागत रूपमा सहभागी हुन नसक्ने जवाफ दिएको बताएका थिए ।

‘एमाले एकताको प्रयास भइरहेको छ । माधवजी त्यसमा पनि लागिरहनु भएको छ । हामी पनि एमाले नफुटोस् नै भन्न चाहन्छौं । एमाले फुट्दा कम्युनिस्ट आन्दोलनलाई पनि केही न केही क्षति हुन्छ,’ प्रचण्डको भनाई थियो ।

आजको बैठकपछि प्रवक्ता नाराणकाजी श्रेष्ठले नेपाल समूहले सरकारमा जाने–नजाने निर्णय गर्न केही समय पर्खन भनेकाले ढिलाइ भएको र अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए ।

माओवादी केन्द्रले मन्त्रीको टुंगो लगाउन भोलि पनि स्थायी कमिटी बैठक बोलाएको छ । माओवादीको तर्फबाट भोलि मन्त्री टुंगो लगाएर पर्सीसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी रहेको ती सदस्यले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७