भारतसँग डराएर सरकारले दार्चुला घटनाको ढाकछोप गर्‍यो : नेकपा एमाले

भारतीय राजदूतसँग स्पष्टिकरण सोध्न र मृत्तकको परिवारलाई क्षतिपूर्ति दिन माग


१९ श्रावण २०७८, मंगलवार
Ganesh Thagunna lf55aDb4qa

काठमाडौं, १९ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ । एमालेले दार्चुलाको मालघाटस्थित महाकाली तरिरहेका बेला तुइन काटेर नेपाली युवकको ज्यान लिने भारतीय कदमविरुद्ध सरकारले सशक्त प्रतिरोध गर्न नसकेको आरोप लगाएको छ ।

आज (मंगलबार) प्रतिनिधिसभा बैठकको शुरुमै एमाले सांसदहरुले उठेर विरोध गरेका छन् । त्यसपछि सभामुखले समय दिएपछि एमालेको तर्फबाट धारणा राख्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे ।

साथै उनले दार्चुला घटनाबारे अविलम्ब भारतसँग औपचारिक विरोध जनाउन र दोषी भारतीय सुरक्षाकर्मी (एसएसबी) लाई मानव हत्या गरेको अभियोगमा कारबाहीको माग गरेका छन् । ‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग औपचारिक विरोध जनाओस्, दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस्,’ उनले भने ।

सरकारले दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर सोध्नुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसेको भन्दै एमालेले विरोध जनाएको छ ।

‘युद्धमा पनि जीउज्यान जोगाउनु मानवीय धर्म हुन्छ । तर, जयसिंह धामीको हत्या भएको छ । सीमामा यसरी नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाउनुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसिरहेको छ,’ ठगुन्नाले भने । ठगुन्नाले भौगोलिक रुपमा टाढा भएर कालापानी काठमाडौंलाई नदुखेको बताए ।

‘सरकारलाई कालापानी किन दुख्दैन ? कालापानी टाढा भएर होला । दार्चुला घटना दोहोरिन नदिन दार्चुला–कालापानी–तिंकरलाई राष्ट्रिय गौरवको बनाइयोस्’, उनले भने, ‘ताकि नेपाली नागरिकले तुइन तर्न नपरोस्। यो घटना छानबिनका लागि संसदीय समिति गठन गरियोस् । यो घटनामा भारतसँग विरोध जनाइयोस् । मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति दिइयोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७