सरकारले बाढीपीडितलाई राहत दिन ढिलाइ गर्‍यो : प्रचण्ड


२४ श्रावण २०७८, आईतवार
Prachanda

काठमाडौं, २४ साउन । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र वरपरका बाढीपीडितलाई राहत दिन ढिलाइ गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार बिहान दाहालनिवास खुमलटार पुगेका बाढीपीडितसँगको भेटमा उनले सरकारले सिन्धुपाल्चोकलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसार राहतका कामलाई तीव्रता दिन नसकेको जनाएका हुन् ।

‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलाप तीव्रता साथ अगाडि बढ्यो कि बढेन भन्दा अझै पनि ती गतिविधि त्यहीअनुसारको तीव्रताका साथ अगाडि बढेको छैन,’ उनले भने ।

अध्यक्ष प्रचण्डले उक्त क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले आफ्नो पार्टीका तर्फबाट पनि बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यसवरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि उनले स्पष्ट पारे ।

नेपालमा प्राकृतिक प्रकोप बढ्दै जानुमा जलवायु परिवर्तनलगायतले पनि भूमिका खेलेको हुन सक्ने भन्दै उनले त्यसलाई न्यूनीकरण गर्न सरकारले संयुक्त राष्ट्रसंघलगायत सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७