एमाले एकताका लागि नेता भीम आचार्यको ८ बुँदे अपिल


२७ श्रावण २०७८, बुधबार
bhim acharya

काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक्ला–एक्लै अघि बढिरहेका बेला पार्टी सचिव भीम आचार्यले एकताका लागि ८ बुँदे अपिल जारी गरेका छन् ।

विभाजनकारीहरू सक्रिय भएकाले पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै सचिव आचार्यले बुधबार बिहानै पार्टी बचाई दिन देश–विदेशमा रहेका नेपाली समक्ष हारगुहार गरेका हुन् ।

‘दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ,’ आचार्यले भनेका छन्, ‘टुटफुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनु भएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु ।’

यस्तो छ नेता भीम आचार्यको अपिल
१) एकातिर गत फागुन २८ गतेबाट सुरु भएको विभाजनकारी प्रवृत्तिहरू कतिपय बोली, वचन, काम, व्यवहार र निर्णयहरूमा हालसम्म पनि प्रकट भइरहेका छन् ।

२) अर्कोतिर त्यो प्रवृत्तिको विरोधमा पार्टी एकताको झण्डा उठाउनुपर्ने अपेक्षा गरिएको पक्षका काम, कारबाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भइरहेका हुन् कि भन्ने आशंका बढेर गएको छ ।

३) पक्ष २ वटा प्रवृति एउटै विभाजनकारी नहोस् भन्ने आम कार्यकर्ताको अपेक्षा हो ।

४) दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिहेको छ ।

५) नेकपा एमालेका देशविदेशमा भएका लाखौं कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा जनसमुदायहरू नेपालको वामपन्थी आन्दोलन र नेकपा एमालेको एकताका पक्षमा छन्, तर उनीहरू पार्टी बचोस् भन्ने अपेक्षा गर्ने तर केही गर्न नसक्ने तमासेजस्ता भएका छन् र विडम्बना उनीहरू नेतृत्वविहीन पनि छन् ।

६) गत असार २७ गते भएको १० बुँदे सहमति सम्मानजनक पार्टी एकताको मुख्य आधार हो। यसैमा टेकेर एकताको शुभारम्भ गर्दै थप समस्याहरू हल गर्दै जान सकिन्छ । बिना जालझेल, छलछाम र हिच्किचाहट रूपमा यसलाई लागू गर्नु पर्दछ ।

७) हाल पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने, निरुत्साहित(हतोत्साहित गर्न खोज्ने, अनेक आरोप लगाएर बदनाम गर्ने प्रयासहरू भइरहेका छन् । त्यसबाट एकता पक्षधरहरू हतोत्साही हुनु हुँदैन ।

८) टुटफुट र विभाजनकारी प्रवृत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनु भएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७