लुम्बिनीमा कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त


२८ श्रावण २०७८, बिहीबार
kul prasad kc

बुटवल, २८ साउन । लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका ४२ सांसदको समर्थनमा केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (२) बमोजिम सरकारमा माग दाबी गर्न गरेको आह्वानमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले चार दलको समर्थनमा मागदाबी गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले दिएको समय अवधिसम्म केसीको मात्र मागदाबी परेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा केसीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका केसीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।
केसीले आउँदो २ फागुनसम्म लुम्बिनी प्रदेशको नेतृत्व सम्माल्ने गरी नेपाली कांग्रेससँग सहमति भएको छ । सहमतिअनुसार २ फागुनपछि ८ महिना कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कानौडिया मुख्यमन्त्री बन्ने छन् ।

रोल्पा क्षेत्र नं. १ (क) बाट प्रत्यक्ष निर्वाचित केसी यस अघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तारिक मामिला तथा कानुनमन्त्री थिए । सर्वोच्च अदालते माओवादी केन्द्र र एमालेलाई पूर्वत अवस्थामा फर्काएपछि उनले ६ वैशाखमा राजीनामा दिएर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रदेश प्रमुख अमिक शेरचनले आजै मुख्यमन्त्रीमा केसीलाई शपथ गराउने तयारी गरेका छन् । आजै ६ सदस्यीय मन्त्रिपरिषद् बन्ने भएको छ । सरकारमा पठाउने मन्त्री र मन्त्रालयको टुंगो लगाउन बिहानैदेखि दलहरु बैठकमा जुटे पनि मन्त्रालयको टुंगो लगाउन सकेका छैनन् । जसपाका दुई मन्त्रीसहित मन्त्रालयको टुंगो लागेको छ । जसपाले पाउने अर्को एक मन्त्रालयको अझै टुंगो लागेको छैन । अन्य मन्त्रालय बाँडफाँडका लागि छलफल जारी छ ।

स्रोतका अनुसार कांग्रेसले दाङको निर्वाचन क्षेत्र नं. ३ (क) बाट निर्वाचित डिल्ली चौधरीलाई पठाउने भएको छ । माओवादीबाट प्यूठानको क्षेत्र नं. १ (ख) बाट निर्वाचित कृष्णध्वज खड्कालाई पठाउने निर्णय गरेको छ । ३ प्रदेशसभा सदस्य रहेको जसपाबाट संसदीय दलका नेता सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री र सुमन शर्मा रायमाझी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बन्ने छन् । जसपाकै पुर्मती ढेंगाको मन्त्रालय टुंगो लाग्न बाँकी छ । आज मन्त्रालय टुंगो नलागे ढेंगा बिना विभागीय मन्त्री बन्ने र पछि अन्य मन्त्रीसँगै मन्त्रालयको टुंगो लगाउने कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले जानकारी दिएका छन् ।

बिहीबार सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारीमा रहेका दलहरुले जसपाले सबै मन्त्री एकसाथ पठाउन दबाब दिएपछि मन्त्रिपरिषद् ६ सदस्यीय बन्न लागेको हो । बाँकी मन्त्रालय बाँडफाँडका लागि कार्यदल बनाएर छलफल गर्ने दलहरुको तयारी छ । यसअघि आजै बिहान काठमाडौंमै रहेका कांग्रेसका बालकृष्ण खाँड, माओवादीका वर्षमान पुन र जसपाका मोहम्मद इस्तिहाक राईले पनि मन्त्री र मन्त्रालयका विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७