१ लाख ७२ हजार ग्राहकमा पुग्यो टेलिकमको एफटीटीएच सेवा


२९ श्रावण २०७८, शुक्रबार
nepal telicom

काठमाडौं, २९ साउन । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा ०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लामा पुगेको छ।

कम्पनीका अनुसार यो सेवा कुल १ लाख ७२ हजारभन्दा बढी ग्राहकलाई वितरण गरिसकिएको छ। २०७५ सालमा १ हजार ७३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८७९ ग्राहकलाई र २०७७ मा १ लाख ०७ हजार ७०१ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो।

यसैगरी २०७८ वैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४ हजार २९९ नयाँ लाइन वितरण गरिएको छ। नेपाल टेलिकमले एफटीटीएच सेवाअन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको छ।

प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।

मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भएपश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ। यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको टेलिकमका प्रवक्ता राजेश जोशीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७