प्रचण्डको प्रस्ताव : आउँदो चुनावसम्म वाम लोकतान्त्रिक गठबन्धन

‘माधवजीका कारण बहुमतमा छौं, ओली प्रतिगमन फर्किने खतरा कायमै’


३० श्रावण २०७८, शनिबार
prachanda 1

काठमाडौं, ३० साउन । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्तीमा आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् । आज (शनिबार) बाट शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गर्दै गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड दिएका हुन् ।

नेकपा एमालेसँग पार्टी एकता गर्नु वस्तुतः सही भए पनि केपी शर्मा ओली र उनको गुटमा देखा परेको अहंकार, पदलोलुपता, आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विभाजन भएको प्रचण्डको विश्लेषण छ ।

‘माधवजीका कारण बहुमतमा छौं, ओली प्रतिगमन फर्किने खतरा कायमै’
अध्यक्ष प्रचण्डले शेरवहादुर देउवा नेतृत्वको गठबन्धन सरकार माधव नेपालको दह्रो साथ भएका कारण मात्र वहुमतमा रहेको भन्दै कुनै पनि बेला अल्पमतमा पर्ने खतरा औंल्याएका छन् ।

बैठकमा समसामयिक राजनीतिको विश्लेषण गर्दै जसपाको महन्थ ठाकुर पक्ष आफूहरुसँग नरहने भन्दै माधव नेपाल एमालेमा फर्किएको अवस्थामा सरकार खतरामा पर्ने बताए । प्रचण्डको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘माधवजी दह्रिलोसँग उभिएका कारण मात्रै हाम्रो वहुमत पुगेको हो र केपी ओलीलाई ढाल्न सकिएको हो । यो सरकार कुनै पनि बेला अल्पमतमा पर्ने खतरा छ, हामी धेरै हौसिन जरुरी छैन ।’

प्रचण्डले अहिलेको गठबन्धन भत्काएर ओलीकै सरकार ल्याउने षड्यन्त्र भइरहेको भन्दै प्रतिगमनको खतरा कायमै रहेको विश्लेषण सुनाएका छन् । उनले जसपाको उपेन्द्र पक्षका २० जनासहित कांग्रेस र माओवादीको सिट संख्या जोड्दा १३१ मात्र हुने र बहुमतका लागि १३६ सांसद चाहिने भएकाले माधव नेपालको साथ महत्वपूर्ण रहेको बताए ।

विगतमा जस्तो आजको बैठकमा माधव नेपालको रणनीतिबारे प्रचण्ड खुलेर नबोलेको ती केन्द्रीय सदस्यले जानकारी दिएका छन् । रणनीति लिक हुने भएकाले माधव नेपालको बारेमा प्रचण्डले सांकेतिक कुरा गर्दै भने, ‘माधवजीको बारे धेरै नभनौं, आशा गरौं ठिकै होला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७