रेल सञ्चालन मिति ढाँटेको ढाँट्यै


३१ श्रावण २०७८, आईतवार
Rail Train

काठमाडौं, ३१ साउन । भारतबाट रेल सेट किनेर ल्याएको १० महिना बित्न लाग्दा पनि सञ्चालनको टुंगो लाग्न सकेको छैन । पूर्वतयारीबिना रेल सेट किनेर ल्याएका कारण सञ्चालन मिति तय हुन नसकेको बताइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेलवे कम्पनीले पटकपटक सञ्चालन मिति तय गर्ने गरेका छन् । तर उनीहरूले जतिजति मिति तोके, ती मिति त्यत्तिकै गुज्रिए । रेल थन्किएको थन्कियै भए ।

सञ्चालनसम्बन्धी कानुन, कर्मचारी अभाव र भारत सरकारले बनाइदिएका भौतिक संरचना हन्तान्तरण नहुँदै गत असोज २ मा तामझामसाथ दुई रेल सेट नेपाल ल्याइएको थियो । अहिले दुवै सेटलाई जनकपुरकै इनर्वामा स्टेसनमा सशस्त्र प्रहरीको सुरक्षामा पालले छोपेर राखिएको छ । तत्कालीन भौतिकमन्त्री वसन्तकुमार नेम्बाङले जेठ अन्तिममा अवस्था सहज हुना साथ रेल चलाउन निर्देशन दिएका थिए ।

उनले भनेको समयमा रेल चल्न सकेन । त्यसपछि साउन दोस्रो साताबाट रेल चलाउने कुरा उठेको थियो । त्यो पनि त्यत्तिकै गुज्रियो । कर्मचारीको तालिम सक्ने बित्तिकै रेल चलाउन समस्या नहुने मन्त्रालयले बताएको थियो । रेल ल्याउनेदेखि सञ्चालनको तयारी गर्दासम्म दुई मन्त्री, तीन सचिव र तीन महानिर्देशक फेरिइसके । तर कुनै पनि मन्त्री, सचिव र महानिर्देशकले रेल चलाउन सकेका छैनन् ।

यति बेला नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएपछि रेल चलाउने मितिबारे थप अन्योल बढेको छ । भट्टराईलाई सामाजिक सञ्जालमा जथाभावी लेखेको भन्दै गत साउन २२ मा मन्त्रिपरिषद् निर्णयअनुसार मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । भट्टराईले स्पष्टीकरण नदिई साउन २७ मा राजीनामा दिएका छन् ।

उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन । मन्त्रिपरिषद्मा पठाइएकाले त्यहींबाट स्वीकृत हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता केशवकुमार शर्माले जानकारी दिए । भट्टराईलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ जेठमा महाप्रबन्धकमा नियुक्त गरेको थियो ।

भट्टराईले राजीनामा दिएसँगै भारतको कोंकण रेलवे कर्पोरेसन लिमिटेडले आफ्नो भुक्तानी मागेको छ । कोंकणसँग तीन महिनाअघि रेल सञ्चालन सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ । यसअनुसार एक वर्षसम्म कोंकणकै प्राविधिक कर्मचारीले रेल चलाउने र नेपाली कर्मचारीलाई तालिम दिएर दक्ष बनाउने समझदारी छ । यसका लागि २२ करोड रुपैयाँमा सम्झौता भएको हो ।

‘सम्झौता भएपछि अग्रिम रकम साढे चार करोड रुपैयाँ दिनुपर्नेछ । यसका लागि कोंकणले बैंक ग्यारेन्टी पेस गरेको आठ साता भइसकेको छ,’ प्रवक्ता शर्माले भने, ‘उसले तालिम सञ्चालन गरिसकेको छ, प्राविधिक जनशक्ति पनि तयार पारिसकेको छ ।’ एक वर्षसम्म किस्ता–किस्ता गरेर रकम दिने भनिएको छ । राष्ट्र बैंकबाट विदेशी मुद्रामा भुक्तानी दिन सहमति प्राप्त भएको अघिल्लो दिन महाप्रबन्धक भट्टराईले राजीनामा दिएपछि भुक्तानी रोकिएको हो ।

‘बैंक ग्यारेन्टी पेस गरेर भुक्तानी मागेको धेरै भइसकेको रहेछ । यसबारे महाप्रबन्धकलाई जानकारी भए पनि हामीलाई भएन,’ शर्माले भने, ‘मन्त्रालयमा भने अझै आधिकारिक चिठी आएको छैन ।’ कम्पनीले रकम नदिए सम्झौता बन्द गर्ने चेतावनी दिएको बताइएको छ । कोंकणले भारतीय दूतावासलाई बोधार्थ दिएर भुक्तानी माग गरेको जनाइएको छ ।

‘महाप्रबन्धकले चेकमा सही गर्न मिल्थ्यो, उहाँले राजीनामा दिइसक्नुभयो । अरू सबै करारका कर्मचारी भएकाले उनीहरूलाई अधिकार दिन मिलेको छैन,’ शर्माले भने, ‘बुधबार मात्र यो कुरा आएकाले रेल विभागकै महानिर्देशकलाई तोक्ने वा अन्य व्यवस्था गरेर समस्या समाधान गर्ने भन्ने विषयमा छलफल भइरहेको छ, आइतबारसम्म केही उपाय निकालेर चेकमा सही गरी भुक्तानी दिन्छौं ।’ त्यसैले कोंकणलाई तत्काल केही कदम नचाल्न भारतीय दूतावास मार्फत जानकारी गराइएको शर्माले बताए ।

कोंकणले एक वर्षसम्म आवश्यक दक्ष जनशक्ति परिचालन र रेल सर्भिसिङ गर्ने सम्झौता छ । यस अवधिमा कोंकणकै प्राविधिक टोलीले रेल चलाउने छन् । त्यसको बीचमा उसले नेपाली कर्मचारीलाई तालिम पनि दिनेछ । ‘एक वर्षपछि नेपाली कर्मचारी नै दक्ष बन्नेछन्,’ उनले भने, ‘त्यसपछि नेपाली प्राविधिकबाटै रेल चलाउँछौं ।’

तत्काल २६ जना भारतीय प्राविधिक र १ सय ८० जना नेपाली कर्मचारी करारमा राख्ने तयारी छ । नयाँ मन्त्री नियुक्त भएर आएसँगै पहिलो प्राथमिकता रेल सञ्चालन हुने शर्माको दाबी छ । ‘अब धेरै ढिला हुँदैन,’ उनले भने, ‘नयाँ मन्त्री आउना साथ पहिलो काम यही हुनेछ ।’ रेल सञ्चालन र भारत सरकारमार्फत निर्मित भौतिक संरचना एकै पटक हस्तान्तरण गरिनेछ ।

रेलवे विधेयक राष्ट्रिय सभामा छलफलका क्रममा छ । रेलवे कम्पनीले भने कोभिडका कारण रेल सञ्चालनमा ढिलाइ भएको जनाउँदै आएको छ । सुरुमा जयनगरदेखि कुर्थासम्म ३५ किमिमा रेल चल्नेछ । त्यसपछि थप १७ किमि दूरीमा रहेको बिजलपुरासम्म रेल पुग्ने जनाइएको छ । दुईवटा रेल सेट ८४ करोड ६५ लाख रुपैयाँमा कोंकणले रेलवे कर्पोरेसन लिमिटेडले तयार गरेको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७