तनहुँमा सोलारबाट विद्युत् उत्पादन


८ भाद्र २०७८, मंगलवार
bijuli
फाइल फोटो

तनहुँ, ८ भदौं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५, बेलचौतारामा निर्माणाधीन सोलार आयोजनाबाट भदौसम्म विद्युत् उत्पादन हुने भएको छ । भदौ १५ गतेभित्र पाँच मेगावाट विद्युत् उत्पादन गर्ने गरी धमाधम काम भइरहेको आयोजनाले जनाएको छ ।

वि.सं. २०७६ साउनमै निर्माण सम्पन्न भइसक्नुपर्ने आयोजना कोरोना कहरका कारण ढिलाइ भएको सोलार फार्म प्रालिका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘सम्झौताअनुसार पहिल्यै विद्युत् उत्पादन भइसक्नुपर्ने थियो । तर, कोरोना कहरका कारण काममा ढिलाइ हुँदा प्रगति हुन सकेन’, उनले भने, ‘अहिले काम लगभग अन्तिम चरणमा पुगिसकेको छ ।’

उनका अनुसार अहिले दैनिक ४० बढी कामदारले आयोजनाको काम गरिरहेका छन् । ‘६० प्रतिशत सोलार पाता हालिसकिएको छ, भदौ १५ गतेभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम तीव्र पारिएको छ’, श्रेष्ठले भने । उनका अनुसार केही दिनदेखि परेको वर्षाका कारण पनि काम प्रभावित भएको थियो ।

आयोजनामा १३ हजार ४९४ वटा सौर्य प्यानल जडान हुनेछन् । सोलार फार्म प्रालिले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गामा काम गरिरहेको छ । आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ले लगानी गरेको छ । आयोजना सम्पन्न गर्न ६० करोड रुपैयाँ अनुमान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणसँग वि.सं. २०७५ साउनमा विद्युत् खरिद सम्झौता (पीपीए) हुँदा आयोजनाबाट वि.सं. २०७६ साउनदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो । सुरुमा प्रसारण सम्झौता हुँदा उत्पादन हुने विद्युत् दमौली सबस्टेसनमा जोडिने भनिएको थियो । अहिले ५०० मिटर दूरीको बेलचौतारा सबस्टेसनमा जोड्ने गरी प्राधिकरणसँग प्रसारण सम्झौता संशोधन गरिएको छ ।

आयोजना सम्पन्न हुँदा दैनिक ३० हजार युनिट विद्युत् उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट ७.३० रुपैयाँ मा खरिद गर्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत् विकाससम्बन्धी कार्यविधि २०७४’ अनुसार प्राधिकरणसँग पीपीए गर्ने यो पहिलो सौर्य विद्युत् आयोजना हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७