तेस्रो धारका नेताप्रति माधव नेपालको टिप्पणी : एकताको नाममा घर न घाटको बनाउन खाेजियाे


८ भाद्र २०७८, मंगलवार
madhav nepal

काठमाडौं, ८ भदौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई नयाँ पार्टी गठन गर्न नदिने षड्यन्त्र भइरहेको बताएका छन् । आज (मंगलबार) काठमाडौंको चन्द्रागिरिमा पत्रकारहरूसँग कुरा गर्दै नेपालले आफूहरूलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गरे । उनले पार्टी एकताको ‘च्याप्टर क्लोज’ नभएको भन्दै नेकपा (एमाले) को एकताका लागि कोही आए आफ्नो पार्टीमा ढोका खुला रहेको बताए ।

‘एकताको च्याप्टर क्लोज गरेका छैनौं । विचार, धारणा, सोच मिलेपछि एकता हुन्छ । स्वयम् नेकपा (एमाले) को समूहको विचारमा परिवर्तन भयो भने ढोका सधैं खुला छ’, उनले भने, ‘पार्टी गठन गर्ने बित्तिकै पनि एकताका लागि तयार हुन्छौं । तर, गठन गर्नै नदिई हामीलाई अलपत्र पार्ने षड्यन्त्र भइरहेको छ । हामीलाई घर न घाटको बनाउने षड्यन्त्र भइरहेको छ ।’ षड्यन्त्रलाई चिर्दै अघि बढ्ने उनको भनाइ छ ।

नेता नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकलौटी कब्जा गरिसकेपछि नयाँ पार्टी खोल्ने बाहेक अर्को विकल्प नभएको पनि बताएका छन् । ‘केपी ओलीले एकलौटी पार्टी कब्जा गरेर ढोका बन्द गरिसकेपछि, १४ जना सांसदलाई दलबाट निष्कासित गरिसकेपछि हामीसँग कुनै विकल्प भएन’, उनले भने, ‘कि त हामीले घुँडा टेक्नु पथ्र्यो, कि त चुप लागेर सडकमा बस्नु पथ्र्यो, कि क्रान्तिकारी पार्टी बनाउनु पथ्र्यो । हामीले तेस्रो विकल्प रोज्यौं ।’

उनले अब केपी ओलीको दक्षिणपन्थी कित्ता एकातिर र क्रान्तिकारीहरु अर्कातिर पुगेको पनि बताए । ‘केपीको कित्ता एकातिर र क्रान्तिकारी कित्ता अर्कोतर्फ भएको छ’, उनले भने, ‘अन्य वामपन्थीहरूसँग चुनावी तालमेल पनि हुनेछ । समाजवादको दिशामा अघि बढ्नका लागि भ्रष्टाचारलाई निर्मूल पार्न यो लडाइँमा उत्रिएका छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७