गण्डकीका मन्त्रीहरुको सम्पति : कसैको जताततै जग्गा, कसैको किलोमा सुन–चाँदी

मन्त्रीद्वय दीपक मनाङे र चन्द्रबहादुर बुढाले अझै बुझाएनन्


९ भाद्र २०७८, बुधबार
gandakika mantri sampatti

पोखरा, ९ भदौं । गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएको दुई महिनापछि मुख्यमन्त्री र मन्त्रीहरुले सम्पति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेवसाइटमार्फत मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गरिएको हो ।

विवरणअनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको ११ सदस्यीय मन्त्री मण्डलका ९ जना मन्त्रीहरुले सम्पति विवरण पेश गरेका छन् । प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने सम्पति विवरण बुझाएका छैनन् ।

मुख्यमन्त्री पोखरेलले सम्पति विवरणमा २५ लाख रुपैयाँ ऋण देखाएका छन् । उनले पेश गरेको विवरणमा कृषि विकास बैंकबाट २०७६ मा ऋण लिएको उल्लेख छ । उनले आम्दानीका रुपमा तलबबाट आएको पाँच लाख नगद एभरेष्ट बैंकमा रहेको उल्लेख गरेका छन् ।
त्यस्तै पोखरेलसँग पाँच तोला सुन, काठमाडौं र तनहुँमा जग्गा रहेको विवरण देखाएका छन् । श्रीमती लता पोखरेलको नाममा गैंडाकोटमा २० लाख रुपैयाँ मूल्यको एउटा घर रहेको उल्लेख छ ।

यस्तै भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले पोखरा महानगरपालिका–१६ मा ३८२.२ वर्ग मिटर क्षेत्रफलमा फैलिएको घर स्वआर्जन र पैतृक सम्पतिको रहेको विवरणमा उल्लेख गरेका छन् । मन्त्री खड्काले ९५ तोला सुन, विभिन्न वित्तीय संस्थामा एक करोड बढी नगद मौज्दात, ५६ लाखको शेयर र ८५ लाख ऋण दिएको सम्पति विवरण पेश गरेका छन् ।

अर्थमन्त्री रामजी बरालले एनआइसी एसिया बैंकबाट एक करोड ऋण लिएको सम्पति विवरणमा देखाएका छन् । उनले ६० हजार रुपैयाँको गाई, निफ्राको ६० कित्ता शेयर, बैंकमा तीन लाख नगद मौज्दात देखाएका छन् । यस्तै दुई छोरा र बुहारीको नाममा दुई मोटरसाइकल तथा एक स्कुटर रहेको विवरण पेश गरेका छन । त्यस्तै मन्त्री बराल र उनको श्रीमतीको नाममा पोखरामा जग्गा, चार तोला सुन रहेको विवरणमा उल्लेख गरेका छन् ।

यसैगरी कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले ९० तोला सुन भएको विवरण पेश गरेका छन । त्यस्तै पोखरामा ६ ठाउँमा घर, ८ ठाउँमा जग्गा रहेको सम्पत्ती विवरणमा उल्लेख छ । उनले घरमा नगद ५५ हजार रुपैयाँ,५० तोला चाँदी, १५ तोला हीरा रहेको विवरणमा उल्लेख गरेका छन् । यस्तै बैंक तथा वित्तीय संस्थामा झन्डै १० करोड नगद मौज्दात र परिवार समेतको सात लाख ५० हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

उनले दुईवटा गाडी, पाँच वित्तीय संस्थामा ऋण तथा होटेल, मल, रिसोर्ट लगायतमा लगानी रहेको उल्लेख गरेका छन् । त्यसैगरी शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एक किलो १९ तोला सुन रहेको सम्पति विवरण बुझाएका छन् । उनले बुझाएको विवरणमा उल्लेखित सम्पतिको मुख्य स्रोत पैतृक सम्पति उल्लेख छ ।

मन्त्री श्रेष्ठले १५ लाख नगद तथा सात किलो दुई तोला चाँदी र एक थान हिराको औंठी रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।
त्यस्तै उनको स्याङ्जाको भीरकोट र काठमाडौंको नागार्जुनमा पक्की घर, स्याङ्जा, काठमाडौं र कास्कीको छिनडाँडामा जग्गा रहेको विवरणमा उल्लेख छ ।

वनमन्त्री दीपक थापाको सम्पत्ति
वनमन्त्री दीपक थापाले स्याङ्जाको बिरुवा –२ मा ५० हजार रुपैयाँमा घर किनेका छन् । उनले सांसद भएपछि पोखरा –१४ मा ४० लाखको जग्गा खरिद गरेको विवरण पेश गरेका छन् । त्यसको स्रोतमा तलब भत्तादेखि छोराको व्यवसाय, विदेशमा रहेका छोराछोरीको रेमिट्यान्स भएको उल्लेख छ ।

मन्त्री थापासँग पैतृक सम्पत्तिको ३० तोला सुन र २० तोला चाँदी रहेको छ । उनले विभिन्न वित्तीय संस्थामा ६१ लाख ५० हजार ऋण भएको विवरणमा उल्लेख गरेका छन् ।

ऊर्जा तथा जलस्रोत मन्त्री हरिशरण आचार्यले कृषि विकास र प्रभु बैंकमा ४० लाख ऋण भएको विवरण पेश गरेका छन् । उनले बैंकबाट लिएको ५० लाख ऋण मध्ये १० लाख तिरेको र बाँकी ४० लाख ऋण भएको विवरणमा उल्लेख गरेका छन् । उनको गोरखाको पालुङटार–२ मा बुवा र श्रीमतीको नाममा घरजग्गा रहेको, आठ तोला सुन र पाँच तोला चाँदी रहेको विवरणमा उल्लेख छ । उनले आमुल फर्निचर उद्योग सञ्चालन गर्दै आएको समेत उल्लेख गरेका छन् ।

पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेलले बागलुङ नगरपालिकामा ४८ लाख ५० हजारमा खरिद गरेको घर रहेको सम्पत्ति विवरण पेश गरेका छन् । उनले आफ्नो नाममा बागलुङको लेखानीमा ६ ठाउँमा जग्गा रहेको विवरण पेश गरेका छन् । उनले ८७ हजार कित्ता सेयर, दुई करोड ६७ लाख ऋण रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

त्यस्तै श्रीमती इन्द्रकली कँडेलको नाममा ७ ठाउँमा जग्गा रहेको छ । मन्त्री कँडेलको नाममा चितवनमा ७ ठाउँ, रुपन्देहीमा ९ र इन्द्रकली कँडेलको नाममा चितवनमा ठाउँमा ३ ठाउँमा जग्गा भएको उल्लेख छ । त्यस्तै २५ तोला सुन, एक किलो चाँदी, ६ लाख नगद रहेको विवरणमा उल्लेख छ । त्यसैगरी श्रीमती इन्द्रकली कँडेलको नाममा दुई लाख नगद रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु माया अधिकारी गुरुङले ८ लाख ६० हजार नगद मौज्दात रहेको विवरण पेश गरेकी छन् । उनले लमजुङको दूधपोखरीमा घर, चितवन र हेटौंडामा चार ठाउँमा जग्गा, ३ तोला सुन रहेको विवरण पेश गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७